0 Shares

तेह्रथुम । काठमाडौँको चर्च ब्वाइज युनाइटेड यहाँ जारी दोस्रो भगिमानसिं तुम्बाहाम्फे स्मृति गोल्डकपको सेमिफाइनल खेलमा प्रवेश गरेको छ ।

स्थानीय म्याङलुङ खेलमैदानमा आज आइतबार भएको तेस्रो क्वाटरफाइनल खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबमाथि चर्च ब्वाइजले कठिन जीत दर्ता गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

चर्च ब्वाइजले निर्धारित समयमा जीत निकाल्दा पाँचथरविरुद्ध ३-२ गोलको नतिजा गोल्डकपमै पहिलोपल्ट निस्कियो । यसअघिका दुई खेलमा निर्धारित समयमा कुनै पनि गोल हुन सकेको थिएन । निर्णय टाइब्रेकरबाट लिनु परेको थियो ।

चर्च ब्वाइजले खेलको पहिलो हाफमा १ गोल र दोस्रो हाफमा २ गोल गरेको थियो । तर, फिदिमले दोस्रो हाफको १ मिनेटभित्रै २ गोल गरेर खेलमा फर्किने प्रयास गरे पनि सम्भव भने भएन ।

चर्च ब्वाइजका भुवन बस्नेतले खेलको १३औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, दोस्रो हाफको ५औँ मिनेटमा मिलन राईले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् ।

खेलको २०औँ मिनेटमा सन्तोष न्यौपानेले चर्च ब्वाइजका लागि तेस्रो गोल गरेर फराकिलो गोलअन्तर निकालेका थिए ।

तर, फिदिमले एक मिनेटभित्र दुई गोल गरेर चर्च ब्वाइजमाथि संकट पैदा गराएको थियो । दोस्रो हाफको २६औँ मिनेटमा रोशन आङदेम्बेले आकर्षक गोल गर्दै गोलअन्तरको दूरी कम गरे ।

गोल गरेको १ मिनेट बित्न नपाउँदै फिदिमका साजन बस्नेतले थप गोल गरेर खेललाई ३-२ को स्थितिमा ल्याए । बाँकी समय चर्च ब्वाइजमाथि दबाब सिर्जना गरे पनि स्कोर हुन नसक्दा फिदिम पहिलो खेलबाट घर फर्किएको छ ।

खेलको म्यान अफ दी म्याच चर्च ब्वाइजका कप्तान मिलन राई घोषितहुँदै नगद १० हजार पुरस्कार पाउन सफल भए ।

भगिमानसिं तुम्बाहाम्फे स्मृति प्रतिष्ठान तेह्रथुमले आयोजना गरेको गोल्डकपमा सोमबार जलथल एफसी झापा र गाइघाट एफसी उदयपुरले अन्तिम क्वाटरफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

आठ वटा टिम सहभागी छन् । गोल्डकपको विजेताले नगद ३ लाख पाउनेछ ।