अर्जुनधारा । वैदेशिक रोजगारका क्रममा विभिन्न देशमा रहेका अर्जुनधारा १ स्थायी बसोबास गर्ने सहयोगी मनका धनी व्यक्तित्वले स्थानीय गणेश आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि न्यानो कपडा प्रदान गरेका छन् ।

हाल वैदेशिक रोजगारको सिलसिलामा अफगानिस्तानमा कार्यरत युवा व्यक्तित्व पदमबहादुर निरौला र इजरायलमा रहेकी पारु लोहारले अर्जुनधारा १ स्थित गणेश आधारभूत विद्यालय साधुटारका १०९ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई स्वीटर प्रदान गरेका हुन् ।

विद्यालय व्यवस्थापन समिति, शिक्षकशिक्षिका तथा अभिभावकहरुको भेलामा दाता पदमबहादुर निरौला तथा पारु लोहारका पिता गणेशबहादुर लोहारले ४५ हजार मूल्यबराबरको स्वीटर सोमबार विद्यार्थीलाई प्रदान गरे ।

विद्यालयका प्रधानाध्यपक लोकनाथ दाहालले सञ्चालन गरेको कार्यक्रमको अध्यक्ष व्यवस्थापन समितिका अध्यक्ष अम्बरबहादुर राईले गरेका थिए ।