तेह्रथुम । यहाँ जारी दोस्रो भगिमानसिं तुम्बाहाम्फे स्मृति गोल्डकपमा सोमबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलबाट जलथल एफसी झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो संस्करणको उपविजेता गाइघाट एफसी उदयपुरमाथि झापाले स्पष्ट जीत निकालेसँगै सेमी समिकरण पनि पूरा भएको छ । स्थानीय म्याङलुङ खेलमैदानमा भएको खेलमा झापाका लागि पहिलो र दोस्रो हाफमा गोल सम्भव भएको हो ।

खेल सुरु भएको ६ मिनेटमै झापाका सरोज कार्कीले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । उदयपुरको डिफेन्स लाइनमा भएको कमजोरीको फाइदा उठाउँदै सरोजले दोस्रो बार च्याप्दै बललाई जाली चुमाएका थिए ।

प्रतिस्पर्धात्मक खेलमा झापाले पहिलो हाफमा दबाब जारी राखेको थियो । दोस्रो हाफमा केही सम्हालिएको प्रदर्शन गरेको उदयपुरले स्कोर भने गर्न सकेन ।

झापाले थुप्रै अवसर गुमाएको खेलमा कप्तान कर्ण लिम्बूका केही प्रहार गोलपोस्टमा पर्न नसक्दा दर्शक निराश बनेका थिए । तर, दोस्रो हाफको १८औँ मिनेटमा फेरि सरोज कार्कीले नै उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर बनाए ।

कप्तान कर्ण लिम्बूको पासमा विपक्षी गोलरक्षक रेम्बो चौधरीलाई बिट गर्दै गरेको फ्लिकबाट सरोजले गोल गरेका थिए । झापाका सरोज म्यान अफ दी म्याच घोषित भए । उनले पुरस्कारस्वरुप नगद १० हजार पाए ।

आयोजक बिटिएफसी तेह्रथुमले चर्च ब्वाइज युनाइटेड काठमाडौँसँग भोलि (मंगलबार) पहिलो सेमिफाइनल खेल खेल्नेछ । गोल्डकपमा ८ टिम सहभागी छन् ।

भगिमान तुम्बाहाम्फे स्मृति प्रतिष्ठान तेह्रथुमको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद ३ लाख पाउनेछ ।