तेह्रथुम । आयोजक बिटिएफसी दोस्रो भगिमानसिं तुम्बाहाम्फे स्मृति गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

स्थानीय म्याङलुङ खेलमैदानमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक बिटिएफसीले चर्च ब्वाइज युनाइटेड काठमाडौँलाई टाइब्रेकरमा ४-३ गोलले पाखा लगाउँदै उपाधि नजिक पुगेको हो ।

निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । थप गरिएको १५ मिनेटमा पनि कुनै गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।

टाइब्रेकरमा आयोजक बिटिएफसीका लागि प्रमोद लिम्बू सञ्जोक लिम्बू, सन्तोष खजुम र सञ्जय राईको प्रहार भएको थियो भने सन्तोष फोम्बोको प्रहार बाहिरिएको थियो ।

चर्च ब्वाइजका मिलन राई, पासा लामा र रोशन भुजेलको प्रहार गोलमा परिणत हुँदा रेजिन माझीको प्रहार गोलपोस्टको बारमा लाग्दै फर्किएको थियो । त्यस्तै, सनम भुजेलको प्रहार बाहिरिएको थियो ।
खेलको म्यान अफ दी म्याच आयोजक बिटिएफसीका गोलरक्षक विजय गुरुङ घोषित भए । उनले पुरस्कारस्वरुप नगद १० हजार पाए ।

भगिमान तुम्बाहाम्फे स्मृति प्रतिष्ठान तेह्रथुमको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद ३ लाख पाउनेछ । आयोजकले कम्तिमा एक लाख ५० हजार सुरक्षित गरेको छ ।

भोलि बुधबार जलथल एफसी झापाले द योङ ब्रदर्स इटहरी सुनसरीले फाइनल प्रवेशका लागि अन्तिम सेमिफाइनल खेल्नेछ ।