तेह्रथुम । सडन डेथमा भाग्यमानी हुँदा जलथल एफसी हल्दिबारी झापा यहाँ आयोजित दोस्रो भगिमानसिं तुम्बाहाम्फे स्मृति गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

स्पर्धी द योङ ब्रदर्स इटहरी सुनसरीलाई ६-५ गोलअन्तरमा पराजित गर्दै झापा उपाधि नजिक पुगेको हो । झापाले कम्तिमा एक लाख ५० हजार सुरक्षित गरेको छ । निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले समान ११ गोल गरेपछि निर्णय लिन टाइब्रेकर रोजिएको थियो ।

रोमाञ्चक खेलमा गोलको खाता भने इटहरीले खोलेको थियो । खेलको १४औँ मिनेटमा निकेश तामाङले गोल गर्दै अग्रता दिलाएका थिए । तर, त्यो अग्रता पहिलो हाफसम्म पनि टिकेन ।

झापाका लागि उमेश चौधरीले ३९औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । दोस्रो हाफमा दुवै टोलीले पाएको अवसर गुमाएपछि नतिजा अग्रता बनाउन सकेनन् ।

निर्धारित समय र थप गरिएको १५ मिनेटको समयमा पनि दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि निर्णय लिन टाइब्रेकर रोजिएको थियो । तर, टाइब्रेकरमा पनि समान ४४ गोल भएपछि खेल सडन डेथमा धकेलिएको थियो ।

सडन डेथमा इटहरीका रमेश राजवंशी, असिम राई, विमल मगर, दिपेन तामाङ र अफ्रिकन खेलाडी बुफोनको प्रहारमात्र गोलमा परिणत भएको थियो भने मनिन्द्र याक्खाको प्रहार झापाका गोलरक्षक राजकुमार लिम्बूले बचाउँदा निकेश तामाङको प्रहार बाहिरिएको थियो ।

झापाका लागि कर्ण लिम्बू, सरोज कार्की, लक्ष्मण चौधरी, सन्जित राई, मिलन राई र सनम राईको प्रहार गोलमा परिणत हुँदा गणेश हेमरमको प्रहार इटहरीका गोलरक्षक विष्णु चौधरीले बचाउ गरेका थिए । तर, हार टार्न भने सकेनन् ।

खेलको म्यान अफ दी म्याच झापाका सन्जित राई घोषित भए । उनले पुरस्कारस्वरुप नगद १० हजार पाए । झापाले भोलि आयोजक बिटिएफसीसँग फाइनल खेल खेल्नेछ ।

भगिमान तुम्बाहाम्फे स्मृति प्रतिष्ठान तेह्रथुमको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद ३ लाख पाउनेछ ।