काठमाडौं । सहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि शुरुहुँदै छ । १४ टिम सहभागी हुने यस लिगमा ९१ खेल हुने छन् । काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला र ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्प्लेक्समा रहेको मैदानमा गरि २ ठाउँमा लिगका खेलहरु हुने छन् ।

गत संस्करण रेलिगेशनविना लिग गराएको भन्दै आलोचना खेपेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्षदेखि भने रेलिगेशन सहितको लिगको आयोजना गरेको हो । लिग विजेताले नगद ५० लाख पाउने छ भने उप विजेताले ३५ लाख, तेस्रो हुनेले २५ लाख, चौथो हुनेले १५ लाख, पाँचौं हुनेले ७ लाख र छैटौं हुनेले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

यसैगरी तयारीका २०-२० लाख रुपैयाँ प्राप्त गरेका छन् । ए डिभिजन लिगको उद्घाटन खेलमा आज मच्छिन्द्र र व्रिगेड ब्वाईज खेल्ने छन् ।

मच्छिन्द्र नेपाली टिमका निवर्तमान कप्तान विराज महर्जनको कप्तानीमा खेल्दै छ भने व्रिगेड ब्वाईज पनि राष्ट्रिय टिमका पूर्व कप्तान अनिल गुरुङको कप्तानीमा मैदान उत्रने छ ।

मच्छिन्द्रले लिग जित्ने लक्ष्यका साथ यस सिजमा राष्ट्रिय टिमका अधिकांश खेलाडीलाई अनुबन्ध गरेको छ । विग्रेड ब्वाईजले पनि अनिल गुरुङका साथै उत्तम गुरुङ, विजय गुरुङलाई राखेको छ भने यु १९ राष्ट्रिय टिमका अधिकांश खेलाडीलाई अनुबन्ध गरेको छ । दुवै टिमले उद्घाटन खेलमा सुखद् नतिजा निकाल्दै स्पष्ट तीन अंक लिने प्रयासमा हुने छन् ।