झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन नेपाल) अर्जुनधाराले मंसिर ३० गते (पर्सी) बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

नगर प्याव्सनमा आवद्ध २८ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीले सांस्कृतिक कार्यक्रममा जातीय पहिचान झल्काउने झाँकीसहित आधुनिक, लोक नृत्य तथा गायन प्रस्तुत गर्ने आज शनिबार अयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्याव्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौलाका अनुसार विद्यार्थीलाई कला, संस्कृति देखाउन र चिनाउन बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको बताए ।

नगरमा रहेका ३० वटा निजी तथा आवासीय विद्यालयमध्ये २८ वटा प्याव्सनमा आवद्ध छन् भने २६ वटा विद्यालयका विद्यार्थीले पाँच विधामा ७९ वटा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको उनले बताए । सांस्कृतिक कार्यक्रममा सिनियर र जुनियर विद्यार्थीले फरक विधामा प्रस्तुति दिनेछन् ।

कार्यक्रम संयोजक तथा प्याव्सन अर्जुनधाराका उपाध्यक्ष बालगोपाल गौतमका अनुसार प्राथमिक, निमावि र मावि तहका ९५२ जना विद्यार्थी बृहत सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् । सोही कार्यक्रममा कक्षा ८ मा, एसइइमा र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने तीन तीन जना विद्यार्थीलाई पनि सम्मानसहित पुरस्कृत गरिने भएको छ । कार्यक्रम संयोजक गौतमका अनुसार उत्कृष्ट तीन वटा विद्यालयलाई औषत जीपीएका आधारमा पुरस्कृत गरिनेछ ।

प्याव्सन अर्जुनधाराले यसपटक शिक्षा क्षेत्रमा लगानी गर्ने, शैक्षिक गुणस्तर सुधार्न र शिक्षा क्षेत्रको विकासमा आफूलाई समर्पित व्यक्तित्वलाई पनि सम्मान गर्ने भएको छ । निजी विद्यालयमा लगानी गर्दै अहोरात्र लागिपर्ने अर्जुनधारा २ स्थित प्रतिभा नमुना आमाविका निर्देशक टंकप्रसाद आचार्य, शैक्षिक सेवामार्फत निजी क्षेत्रमा समर्पित कालिका शिशु सदनकी शिक्षिका लेखिका भण्डारी (गीता मिस)लाई पनि प्याव्सन अर्जुनधारा सम्मान गर्ने भएको छ ।

त्यस्तै, शिक्षा सेवाकै क्रममा मृत्यु भएका प्रगति आमाविका प्रिन्सिपल स्व. डम्बर बान्तवा राईलाई मरणोप्रान्त सम्मान प्रदान गरिने भएको छ ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा सोमबार प्रगति आमाविको प्रांगणमा हुने सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न चार लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्याव्सन अर्जुनधाराका सचिव राजेशकुमार आचार्यले बताए ।

यसैबीच, झापा प्याव्सनको वार्षिक तालिकाअनुसार यसपटक जिल्लाको पालिकास्तरीय कार्यक्रम पनि अर्जुनधारामा हुने भएको छ । प्रगति आमाविको प्रांगणमा नै पुस १ गते १५ वटा पालिकाबाट छनौट भएका विद्यालयका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ ।