काठमाडौँ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आजदेखि सुरु सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले शानदार सुरुवात गरेको छ ।

उद्घाटन खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २-० गोलले पराजित गर्दै मच्छिन्द्रले शानदार सुरुवात गरेको हो । मच्छिन्द्रका लागि योगेश गुरुङ र दिपक राईले गोल गरेका हुन् ।

विराज महर्जनको कप्तानीमा राष्ट्रिय टोलीका सदस्यले भरिएको मच्छिन्द्रका लागि योगेश गुरुङले खेलको ३०औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । विशाल राईको फ्रिकिकमा ब्रिगेड ब्वाइजका गोलकिपरबाट रिबाउन्ड भएको बललाई अनमार्क रहेका योगेशले गोलपोस्टको दिशा दिएका हुन् ।

त्यस्तै, खेलको ५०औँ मिनेटमा मच्छिन्द्रका दिपक राईले गोल गर्दै अग्रता दिलाएका थिए । जितसँगै मछिन्द्रले २ अंक जाेडेकाे छ । अघिल्लाे सिजन १३औँ स्थानमा रहेपछि एन्फाले मछिन्द्रकाे १ अंक घटाएकाे हाे । बीबीसीले अंक जाेड्न सकेन ।

मछिन्द्रका विशाल राई खेलकाे म्यान अफ दि म्याच घाेषित भए । उनले १० हजार रुपैपा पाए । लिगमा अाइतब कुनै खेल हुने छैन ।

१४ टिम सहभागी यस लिगमा ९१ खेल हुनेछन् । ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्प्लेक्समा खेल भइरहेको छ ।लिग विजेताले नगद ५० लाख पाउने छ भने उप विजेताले ३५ लाख, तेस्रो हुनेले २५ लाख, चौथो हुनेले १५ लाख, पाँचौं हुनेले ७ लाख र छैटौं हुनेले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । यसैगरी तयारीका २०-२० लाख रुपैयाँ प्राप्त गरेका छन् ।