सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा भएको चाँैथो कनकाई नगरकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमै आयोजकलाई वाकओभर मिलेको छ ।

कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा शनिबार भएको उद्घाटन खेलमा निर्धारित बुद्धशान्ति गाउँपालिकाको टिम अनुपस्थित भएपछि आयोजक कनकाई नगरपालिकाले वाकओभर पाएको हो । झापाका ११ पालिकाबीच हुने प्रतियोगिताअघि मैत्रीपूर्ण खेल कनकाई र शिवसताक्षी भेट्रान एफसीबीच भएको थियो ।

उद्घाटन नहुने निश्चित भएपछि झापा गाउँपालिकासँग आयोजक कनकाई नगरपालिकोले शो म्याच खेलेको थियो । प्रतियोगिताको आइतबारको दोस्रो खेल गौरीगञ्ज गाउँपालिका र बाह्रदशी गाउँपालिकाबीच हुने आयोजक समितिका खेल संयोजक राजेन्द्र उप्रेतीले बताएका छन् ।

प्रतियोगिताको प्रदेशसभा सांसद हिराकुमार थापा, जिल्ला समन्वय समितिका सभापति सोमनाथ पोर्तेल, कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामालगायातले उद्घाटन गरेका थिए । प्रतियोगितामा विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १११ रुपैयाँ पाउनेछ ।

प्रतियोगिताको प्रथम पुरस्कार कनकाई नगरपालिका र दोस्रो पुरस्कार साविक विजेता झापा गाउँपालिकाले प्रायोजन गरेको हो । प्रतियोगितामा आयोजक कनकाई नगरपालिकासहित झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका, दमक नगरपालिका, अर्जुनधारा नगरपालिका, कमल गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, बिर्तामोड नगरपालिका, शिवसताक्षी नगरपालिका, हल्दिबारी गाउँपालिका र बुद्धशान्ति गाउँपालिकाको सहभागिता रहेको छ ।