सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगितामा शिवसताक्षी फुटबल क्लबलाई २-१ गोलअन्तरले हराउँदै बिर्तामोड नगरपालिका विजयी भएको छ ।

प्रतियोगिताको तीनै गोल दोस्रो हाफमा भएको हो । शिवसताक्षीका तर्फबाट मनिष योङहाङले गोल गर्दै अग्रता दिलाएका थिए । तर, बिर्तामोडका तर्फबाट सानुका लिम्बू र सनम राईले गोल गरेर जीत दर्ता गरे । खेल सकिन केही सेकेण्ड बाँकी रहँदा थपिएको समयमा बिर्तामोडले पाएको फाउल प्रहारमा बिर्तामोडले बाजी मारेको हो ।

मंगलबारको खेल हल्दिबारी गाउँपालिका र कमल गाउँपालिकाबीच हुने आयोजक कनकाई खखेलकुद प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाईले बताए ।

इन्जुरी समयमा गोल गर्ने बिर्तामोडका सनम राई म्यान अफ दी म्याच भए । उनले नगद २ हजार पाए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १११ र दोस्रो हुने टिमले ५१ हजार १११ रुपैयाँ पाउने छन् । प्रतियोगिताको प्रथम पुरस्कार कनकाई नगरपालिका र दोस्रो पुरस्कार झापा गाउँपालिकाले प्रायोजन गरेको छ ।