काठमाडौं । कप्तान सन्तोष साहुखलले उत्कृष्ट प्रदर्शन गरेपछि च्यासल युवा क्लबले सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा जीत दर्ता गरेको छ ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा च्यासलले २-० को जीत हासिल गरेको हो । च्यासलले पहिलो हाफको ४१ औँ मिनेटमा सन्तोषको गोलमा अग्रता लिएको थियो । पहिलो हाफमा खेल निकै प्रतिस्पर्धात्मक रहे पनि संकटाले प्राप्त अवसर सदुपयोग गर्न सकेन । दुवै गोलरक्षकले पहिलो हाफमा सुन्दर बचाउ गरेका थिए ।

७५ औँ मिनेटमा संकटाले बराबरी गर्ने सुवर्ण अवसर गुमायो । क्षितिज राज जिटीको हेडरमा गोलरक्षक एलन न्यौपाने बिट भएपनि अभिषेक लिम्बूले गोललाइनबाट क्लियर गरे । लगत्तै सुभाष गुरुङले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई एलने उत्कृष्ट बचाउ गरे ।

८१ औँ मिनेटमा संकटा १० खेलाडीमा सीमित भयो । लक्ष्मण रुचालले २ मिनेटको अन्तरमा दोहोरो पहेंलो कार्ड पाएपछि संकटाको खेलमा फर्कने सम्भावना पातलिएको थियो ।

कप्तान सन्तोषले खेलको ८५ औँ मिनेटमा गोल गर्दै च्यासलको जीत पक्का गरे । उनले अमिर श्रेष्ठको पासलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट फिनिस गर्दै २-० ले अगाडि बढाए । थप गोल हुन नसक्दा च्यासल विजयी भयो । यससँगै च्यासलले लिगमा महत्त्वपूर्ण ३ अंक जोडेको छ ।