सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगितामा अर्जुनधारा नगरपालिकाको टिमले शानदार जीत निकालेको छ ।

बुधबार भएको अन्तिम प्रिक्वाटर फाइनल खेलमा दमक नगरपालिकाको टिमलाई ४-० गोलले पराजित गर्दै अर्जुनधाराले शानदार जीत दर्ता गरेको हो । जीतसँगै अर्जुनधारा क्वाटरफाइनल खेलमा प्रवेश गरेको छ । अर्जुनधाराले पुस ४ गते अर्को खेल खेल्नेछ ।

प्रतियोगितामा खेलको १९औँ मिनेटमा सौगात गोम्देनले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको अवस्थामा दमकले दोस्रो हाफमा थुप्रै आक्रमण बुने पनि गोल गर्न भने सकेन ।

यसैबीच, खेलको ६३औँ मिनेटमा सरोज कार्कीले गोल गर्दै अर्जुनधाराको अग्रता दोब्बर बनाए । उनैले ६६औँ मिनेटमा थप गोल गरेर व्यक्तिगत २ गोल गर । यस क्रममा दमकले पाएको कम्तिमा ७ वटा गोलको अवसर खेर फालेको थियो । अर्जुनधाराका खेलाडीभन्दा दमकका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि जीत सम्भव भएन ।

खेलको ६८औँ मिनेटमा पाएको फ्रिकिकमा अर्जुनधाराका पुष्प मादेनले गोल गर्दै ४-० गोलअन्तर निकालेर फराकिलो जीत दर्ता गराए । खेलको म्यान अफ दी म्याच अर्जुनधाराका सरोज कार्की घोषित हुँदै नगद २ हजार पाए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १११ र दोस्रो हुने टिमले ५५ हजार १११ रुपैयाँ पाउनेछ । प्रतियोगिताको प्रथम पुरस्कार कनकाई नगरपालिका र दोस्रो पुरस्कार झापा गाउँपालिकाले प्रायोजन गरेको छ ।a