रानीटार । पाँचथरको फिदिम नगरपालिका–७, रानीटारमा सञ्चालन हुने फिदिम नगरकप फुटवल प्रतियोगिताको दोस्रो सँस्करण आउँदो पुस १० गतेदेखि हुने भएको छ ।

स्थानीय बराजु खेलमैदानमा हुने प्रतियोगिताको फाइनल खेल पुस १५ गते हुने आयोजक स्वतन्त्र क्लवले आज फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । प्रतियोगितामा प्रदेश-१ का चर्चित क्लवहरुले प्रतिस्पर्धा गर्नेछन् ।

जसमा आयोजक स्वतन्त्र क्लव रानीटारसँगै फिदिम स्पोर्टिङ क्लव पाँचथर, भैरवी दल गण पाँचथर, मितेरी क्लव आठराई तेह्रथुम, डिफेन्डिङ च्यान्पियन रेडस्टार क्लव झापा, रेडहर्ष क्लव इलाम, योङ व्वाइज क्लव इलाम र सैनिक युथ क्लव झापाले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका अध्यक्ष बलबहादुर गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए ।

खेललाई पर्यटनसँग जोड्ने हाम्रो अभियान भन्ने नाराका साथ सञ्चालन हुन गइरहेको प्रतियोगिताको विजेताले उपाधिसँगै नगद १ लाख ११ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रो हुने टिमले ट्रफीसँगै नगद ५५ हजार ५ सय रुपैयाँ पाउनेछ ।

यस्तै विधागततर्फ उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड र मिडफिल्डले जनही २÷२ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्यानलाई नगद १५ सय रुपैयाँ प्राप्त गर्ने आयोजक सँस्थाकी पबित्रा गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न ८ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ ।