सुरुङ्गा । शानदार जीत निकाल्दै अर्जुनधारा नगरपालिकाको टिम झापाको कनकाई नगरपालिकास्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको क्वाटरफाइनल खेलमा गौरादह नगरपालिकाको टिमलाई ४-० गोलले पराजित गर्दै अजुृनधाराले सेमिफाइनलको यात्रा गरेको हो । सबै गोल दोस्रो हाफमा भएको थियो । जसमा अर्जुनधाराका कप्तान पुष्प मादेनले ह्याट्रिक पूरा गरे ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको अर्जुनधाराले दोस्रो हाफमा गौरादहमाथि गोलवर्षा गरेको हो । तर, पहिलो हाफको पूरै समय दबाबमा राखेको अर्जुनधारा स्कोर गर्न भने चुकेको थियो । एक घण्टाको निर्धारित समयमा खेलको ४५औँ मिनेटमा सौरभ लिम्बूले अर्जुनधाराका लागि गोलको खाता खोलेका थिए ।
दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको गौरादहले हार भने टार्न सकेन । अर्जुनधाराका कप्तान पुष्प मादेनले खेलको ५०, ५२ र ६०औँ मिनेटमा सम्झनलायक गोल गर्दै फराकिलो नतिजामा टिमलाई जितए । उनी खेलको म्यान अफ दी म्याच घोषितहुँदै नगद २ हजार पुरस्कार पाउन सफल भए ।
कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १११ र दोस्रो हुने टिमले ५५ हजार १११ रुपैयाँ पाउनेछन् ।