झापा । वडा खेलकुद समिति मेचीनगर–८ को आयोजनामा प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिता २०७६ को उद्घाटन खेलमा आयोजक वडा नम्बर ८ ले विजयी सुरुवात गरेको छ ।

स्थानीय मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा मा शुक्रबार (आज) भएको खेलमा वडा नम्बर ८ ले वडा नम्बर १५ लाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

वडा नम्बर ८ को जीतमा शुशिल लिम्बूले दुई र समिर कटुवालले एक गोल गरे । वडा नम्बर १५ ले एक गोल उपहार स्वरुप आत्मघाती गोल प्राप्त गरेको हो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत दुई गोल गरेका आयोजकका शुशिल लिम्बू म्यान अफ दी म्याच घोषित भए । उनलाई मेचीनगर ४ का वडा अध्यक्ष तथा मेचीनगर खेलकुद समितिका संयोजक नविन बरालले ट्रफी प्रदान गरे ।

मेचीनगरका १५ वटा वडा खेलकुद समितिले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको सहआयोजकमा आदर्श धिमाल समाज र सेन्ट्री युवा क्लब रहेका छन् । पुस १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेता टिमले २६ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।