झापा । राष्ट्रिय खेलको मान्यता पाएको भलिवलको महामेला झापाको शरणामतीमा हुने भएको छ ।
झापाको झापा गाउँपालिका शरणामतीमा यही पुस १४ गतेदेखि १९ गतेसम्म प्रथम अध्यक्ष कप प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको हो ।
झापा गाउँपालिकाको आयोजनामा हुने सो प्रतियोगितामा झापाका १० गाउँपालिकासहित प्रदेश नम्बर एकका २४ पालिकाहरुको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्ली लिम्बुले शनिवार सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने टिमले क्रमशः नगद १ लाख १ हजार १११ र ७१ हजार १११, २१ हजार १११ र ११ हजार १११ पाउने तथा प्रतियोगितामा उत्कृष्ट डिफेन्डर, स्पाइकर, ब्लकर, सर्भर, लिफ्टरलाई क्रमशः नगद ५ हजारका दरले नगद प्रदान गरिने भएको छ ।
प्रतियोगिता स्थानीय जनता माविको खेल मैदानमा संचालन हुने समेत जानकारी गराइयो । प्रतियोगिता संचालनका लागि झापा गाउँपालिकाले ४ लाख रुपैँया सहयोग गरेको र प्रतियोगितामा जम्मा ७ लाख रुपैँया खर्च हुने समेत बताइएको छ ।
पत्रकार सम्मेलनमा झापा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष हरिप्रसाद बानिया, भलिबल संघ नम्बर एकका सचिव लेखनाथ पराजुली लगायतले खेलले सरकारले मनाउन लागेको भ्रमण वषलाई मद्तद्द पुर्याउने विश्वास व्यक्त गरे ।