0 Shares

भद्रपुर । झापाको भद्रपुरस्थित मेची नदीमा दोस्रो संस्करणको मेची रिर्भर साइड ‘बिच’ भलिबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।

भ्रमण वर्ष २०२० सँगै नेपाल–भारतबीचको एकता र सद्भावलाई कायम राख्ने उद्देश्यले भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयको आयोजना तथा एलेभेन साइनिङ स्टार क्लबको सह–आयोजकमा वडास्तरीय ‘बिच’ भलिबल प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटनमा शनिबार आठ वटा वडाबीच प्रतिस्पर्धा भएको छ । उद्घाटन खेलमा वडा नम्बर ३, ४, ५ र ६ विजयी भएका छन् ।

उद्घाटन खेलमा वडा नम्बर ५ ले वडा नम्बर १ लाई २१–१७, २१–१६ को सोझो सेटमा पराजित गरेको छ । खेलको म्यान अफ दी म्याच वडा नम्बर ५ का पारस शर्मा घोषित भए । दोस्रो खेलमा वडा नम्बर ३ ले वडा नम्बर ७ लाई २१–६, २१–११ को सोझो सेटमा पराजित गरेको छ । खेलको म्यान अफ दी म्याच वडा नम्बर ३ का विक्रम तामाङ घोषित भए ।

त्यसै गरी तेस्रो खेलमा वडा नम्बर ४ ले वडा नम्बर ८ लाई २१–९, २१–१६ को सोझो सेटमा पराजित गरेको छ । खेलको म्यान अफ दी म्याच वडा नम्बर ५ का भरत यादव घोषित भए । अन्तिम खेलमा वडा नम्बर ६ ले वडा नम्बर २ लाई २१–११, २१–१४ को सोझो सेटमा पराजित गरेको छ । खेलको म्यान अफ दी म्याच वडा नम्बर ।६ का सागर कामती घोषित भए ।

प्रतियोगितामा नगरभरिका १० वटा वडाले सहभागिता जनाएका छन् । विजेता टिमलाई नगद ३० हजारसहित शिल्ड प्रदान गरिनेछ भने उपविजेता टिमलाई नगद २० हजार र तृतीय हुने टिमलाई नगद १० हजारसहित शिल्ड प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको लागि वडाको सिलिङबाट १ लाख ७० हजार छुट्टाएर कार्यक्रमको आयोजना गरिएको हो ।