अर्जुनधारा । शनिश्चरे फुटबल क्लब झापाको आयोजनामा जिल्लास्तरीय फुटबल प्रतियोगिता अर्जुनधारा नगरपालिकामा हुने भएको छ ।

सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका अर्जुनधारा–८ का प्रहरी सहायक निरीक्षक ध्रुवबहादुर कटुवालको स्मृतिमा फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगिता आगामी माघको पहिलो साता हुने क्लबद्वारा मंगलबार आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।

स्थानीय शनिश्चरे माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा आयोजक क्लबसहित आठ वटा क्लबको सहभागिता रहने क्लबका सल्लाहकार एवम् आर्थिक उपसमितिका संयोजक टेकराज तिलिङले बताए ।

प्रतियोगिताका विजेता र उपविजेताले नगद पुरस्कार क्रमश ५० हजार र ३० हजार प्राप्त गर्ने सल्लाहकार तिलिङले बताए । विजेताको नगद पुरस्कार कटुवाल परिवारबाट प्राप्त हुने बताइएको छ ।

प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद दुई हजार र विधागत उत्कृष्ट खेलाडीहरुले जनही पाँच हजार प्राप्त गर्ने प्रतियोगिताका संयोजक सुरेन राईले बताए । अनुमानित पाँच लाख रुपैयाँ खर्च लाग्ने प्रतियोगिता सम्पन्न गर्न सम्बन्धित निकाय, विभिन्न संघ–संस्थाहरु र दाताहरुसँग समन्वय गर्ने बताइएको छ ।

क्लबका अध्यक्ष सुमन गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नानी लिम्बू, बिमल सुब्बा, विवेक कटुवाल, हरि गुरुङलगायतले प्रतियोगिताको विषयमा जानकारी गराएका थिए ।