झापा । करिब ६ लाख पूर्व विद्यार्थीको साझा संस्था राष्ट्रिय रमणीय आदर्श मावि भूतपूर्व विद्यार्थी मञ्चले विद्यालयका विभिन्न क्लबहरुलाई टि-सर्ट प्रदान गरेको छ ।
मञ्च गठन भएको एक साता नपुग्दै सामाजिक उत्तरदायित्वअन्तर्गतको भुमिकामा सक्रिय हुन थालेको भन्दै विद्यालयका शिक्षक र विद्यार्थीले खुसी व्यक्त गरेका छन् । विद्यार्थी प्रेक्षा पोख्रेलले भूपू विद्यार्थी मञ्चको हरेक कार्यक्रममा आफूहरुको सक्रिय भूमिका रहने बताइन् ।
राष्ट्रिय रमणीय आदर्श बाल क्लबका अध्यक्ष केशव भण्डारी, सगरमाथा टिन्स क्लब र हेल्पिङ हेण्ड क्लबका अध्यक्ष प्रेक्षा पोख्रेल र सो विद्यालयको जुनियर रेडक्रस सर्कलका अध्यक्ष रक्षा नेपाललाई कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक कालिप्रसाद रिजाल र मञ्चका अध्यक्ष अशोक बस्नेतले संयुक्तरुपमा टि-सर्ट हस्तान्तरण गरेका थिए ।
अध्यक्ष बस्नेतले विद्यालयको सर्वाङ्गीण विकासका लागि भूपू विद्यार्थीले विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीसहित अन्य सरोकार राख्ने निकायसँग अन्तरक्रिया गर्ने बताए । कार्यक्रम मञ्चका अध्यक्ष बस्नेतको अध्यक्षता र सचिव गोविन्द काफ्लेको सञ्चालनमा रहेको थियो ।