राजु पौडेल,
झापा । फुटबल खेलाडी उत्पादनका लागि पूर्व उर्वर मानिन्छ । पूर्वको समथर तराई होस् या पहाडको डाँडाकाँडा, फुटबलप्रतिको क्रेज उस्तै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को ‘क्यालेन्डर’मा परेका गोल्डकपबाहेक गाउँशहरमा हुने त्यस्ता फुटबल प्रतियोगिताले पूर्वमा नयाँ खेलाडीहरुलाई अवसर मात्रै सिर्जना गरेको छैन, व्यावसायिकरुपमै पूर्वमा फुटबल खेल्ने खेलाडीलाई बाँच्ने आधार समेत बनेको छ ।

नेपाली फुटबलमा व्यावसायिकताको कमी र नियमितरुपमा लिग नहुँदा पूर्वतिरका खेलाडीको बाँच्ने आधार मोफसलको गोल्डकप र सिमावर्ती भारतमा हुने प्रतियोगिताको ‘खेप’ हो । २ महिनाको लिगपछि धेरै खेलाडीको बाँच्ने आधार भनेको खेप हो । खेप अर्थात् खेल पारिश्रमिक ।

पूर्वको झापा, मोरङ, सुनसरी, इलामका खेलाडी खेपका भरमा चलेका छन् । विशेषगरी यी जिल्लाहरुसँगै पूर्वी पहाडी जिल्लाहरुमा हुने गोल्डकप साथै भारतको कोलकाता, असाम, पश्चिम बंगाल क्षेत्र, कालिम्पोङ, दार्जिलिङ र सिक्किम लगायतका शहरमा हुने फुटबल प्रतियोगितामा खेप खेल्दै आएका छन् ।

भारत र नेपालको पूर्वी पहाडी जिल्लामा हुने प्रतियोगितामा खैल मैदान र रंगशालाको भौतिक संरचना उपयुक्त नभए पनि फुटबलप्रतिको क्रेजका कारण त्यस्ता ठाउँहरुमा समेत प्रतियोगिता सञ्चालन हुँदै आइरहेका छन् । जसका कारण स्थानीय खेलाडीहरुले अवसर मात्रै पाएका छैनन् मोफसलमा चलेका खेलाडीको परिवार धान्ने माध्यम पनि बनेको छ । ‘मैले लिग खेलेको छुईन’ सुनसरीका खेलाडी रमेश राजवंशी भन्छन्, ‘तर पनि विभिन्न क्लबबाट फुटबल खेलिरहेको छु ।’ जसले गर्दा उनलाई यसमा टिकिरहन मद्धत गरिरहेको छ ।

झन्डै ५ वर्षपछि लिग भए पनि त्यसपछि प्रतियोगिताको निरन्तरताको सम्भावना न्यून रहँदा खेप नै फुटबलमा टिक्ने आधार रहेको खेलाडीहरु बताउँछन् । खेपले आर्थिक पाटोमा मात्र समर्थन गरेको छैन, उनीहरूको खेल जीवनलाई पनि निरन्तरता दिएको झापाका खेलाडी सरोज कार्की बताउछन् । तर, साना साना प्रतियोगिताका दौरान भएका इन्जुरीले भने ठूला र प्रतिष्ठित प्रतियोगिताका लागि समस्या सृजना गर्दै आएको कतिपय खेलाडी बताउछन् ।

देशमा २ दर्जनभन्दा बढी गोल्डकप प्रतियोगिता आयोजना हुन्छन् । यो बाहेक साना र भारतमा हुने प्रतियोगिताको संख्या पनि धेरै छन् । जसमा एउटा क्लबमा देखिएको खेलाडी अर्को प्रतियोगितामा अर्को क्लबबाट खेलेको भेटिन्छ । धेरैजसो प्रतियोगिताको मिति जुध्दा यस्ता खेलाडीहरुलाई समस्या पर्ने गरेको उनीहरु बताउछन् ।

एन्फाले फुटबलको विकासका लागि सीमित समयमा आयोजना गरिएका गोल्डकपहरु जुधाउनु भन्दा पनि बर्ष भरिनै चलायमान बनाउनुपर्ने सुनसरीका खेलाडी निशान लिम्बुको धारणा छ । पाँचथरकाे रानीटारमा रेडस्टार क्लबबाट खेप फुटबल खेल्दै गर्दा भेटिएका निशानमात्र हाेइनन् थुप्रै खेलाडीले अाफ्नाे अनुभव साटे ।

नेपाली राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर देवेन्द्र तामाङ, झापाका कर्ण लिम्बु, योगेश गुरुङ, विशाल राई, दिलेन लोक्ताम, एञ्जल गुरुङ, निरोज बस्नेतलगायतका खेलाडीहरु फुटबलमा खेपकै कारण टिकेका छन् । यी बाहेक पूर्वमा विभिन्न स्थानमा हुने प्रतियोगितामा विभिन्न क्लबहरुबाट फुटबल खेल्ने खेलाडीहरु पनि धेरै छन् ।

मोफसलमा चलेका खेलाडीको आर्थिक उपार्जनको मुख्य स्रोत र नियमित अभ्यास नै नेपाल र भारतको विभिन्न स्थानमा हुने प्रतियोगिता बनेको छ । मोफसलमा हुने सानाठुला गोल्डकप तथा फुटबल प्रतियोगिताले नयाँ खेलाडी उत्पादनका साथै खेलाडीलाई आर्थिक उपार्जनको लागि सहयोग पुगेको झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ बताउँछन् ।

विभागीय बाहेकका ’ए’ डिभिजनका क्लबहरुले प्रतियोगिता दौरान खेलाडीहरुलाई खेल पारिश्रमिकअनुसार सहभागी गराउँछन् । मोफसलको सफल क्लबको रुपमा रहेको पूर्वको झापा–११ ले समेत सबै खेलाडी अनुबन्धन गरेको छैन । यसरी क्लबहरुले खेलाडीलाई कम्तीमा एक वर्ष पनि अनुबन्धन नगर्दा वर्षभरि खेलेर बाँच्ने वातावरण बनेको छैन ।