शरणामती । झापा गाउँपालिका अध्यक्ष कप भलिबल कपको उपाधि दमक नगरपालिकाले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा दमकले बिर्तामोडलाई हराउँदै उपाधि जितेको हो । दमकले अध्यक्ष कपको उपाधिसँगै नगद १ लाख १ हजार ११ रुपैँया हात पारेको छ । बिर्तामोडले नगद ७१ हजार १११ रुपैयाँमा चित्त बुझायो ।

तेस्रो बनेको संखुवासभाको सभापोखरी गाउँपालिकाले नगद २१ हजार १११ रुपैयाँ पाउँदा चौथो भएको आयोजक झापा गाउँपालिकाले १० हजार १११ रुपैयाँ पाएको थियो ।

फाइनल खेलमा दमकले बिर्तामोडलाई १२-२५, १२-२५ र २२-२५ को सोझो सेटमा पराजित गरेर उपाधि हात पारेको हो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी दमकका प्रकाश लिम्बू भए । उनले नगद १० हजार रुपैयाँ पाए । उत्कृष्ट लिफ्टर दमकका मुस्कान लिम्बू, उत्कृष्ट सर्भर टेम्के मयुंङ भोजपुरका सरोज राई, सर्वोकृष्ट डिफेन्स आयोजक झापा गाउँपालिकाका गणेश कटुवाल, ब्लकर रोहित शिवाकोटी, उदयीमान खेलाडी बिर्तामोडका विज्ञान डाँगी र बेष्ट स्पाइकर सभापोखरी संखुवासभाका प्रदिप कट्टेल भए । उनीहरुले जनही नगद ५ हजार पुरस्कार पाए ।
यसैबीच, स्थानीय शरणामतीको खेल मैदानमा भलिबल खेलेर राष्ट्रिय प्रतियोगितासम्म खेल्न सफल दुई जना खेलाडी राजेन्द्र श्रेष्ठ र मदनकुमार बस्नेतलाई सम्मान समेत गरिएको थियो । जनता माविको खेल मैदानमा पुस १४ गतेदेखि १९ गतेसम्म भएको प्रतियोगितामा झापासहित प्रदेश नम्बर १ का २२ टिमको सहभागिता रहेको थियो ।