अर्जुनधारा । झापाको अर्जुनधारा–१० मा रहेको सिंहवाहिनी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

कनकाई नगरपालिका–३स्थित ह्याप्पी ल्याण्ड फनपार्कमा विद्यालयद्धारा आयोजित कार्यक्रममा ४५ जना विद्यार्थीलाई वितरण गरिएको उक्त कपडाहरु झिलझिले निवासी व्यवसायी कुमारी शेर्माले सहयोग प्रदान गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर श्रेष्ठको अध्यक्षता र अर्जुनधारा–१० वडा समितिका अध्यक्ष बलदेव गोम्देनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गोम्देन, दाताहरु कुमारी शेर्मा, भीम राई, मनु शेर्मालगायतले विद्यार्थीले कपडा वितरण गरेका थिए ।

भ्रमण वर्ष २०२०लाई लक्षित गरि पर्यटकीय स्थलको प्रबद्र्धनसँगै लघु शैक्षिक भ्रमणकोरुपमा आयोजना गरिएको उक्त कार्यक्रमको स्थल व्यवस्थापन गर्ने स्थानीय व्यवसायी लीला चिमरीया, खाद्यान्न व्यवस्थापन गर्ने आकाश राई र ज्ञानु खड्का, यातायात व्यवस्थापन गर्ने एम्स एकाडेमी र विद्यार्थीहरुलाई कपडा सहयोग गर्ने दाताहरुलाई प्रमुख अतिथि गोम्देनले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा वडा सदस्यहरु भोला गौतम, फिपराज कुरुम्वाङ र सीता परियार, वडा सचिव कृष्ण नेपाल, शिक्षक अभिभावक संघका अध्यक्ष सूर्यप्रसाद खतिवडालगायतको आतिथ्यता रहेको थियो । शिक्षक चन्द्रप्रकाश तिवारीले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन अर्का शिक्षक राम तिम्सिनाले गरेका थिए ।