नमिता दाहाल,
काठमाडौँ । १३औं सागमा नेपालले अहिलेसम्मकै ठूलो सफलता पाएपछि सरकारले विजेतालाई पुरस्कार घोषणा गर्‍यो । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर सगौरव गरेको घोषणा एक महिनासम्म कार्यान्वयनमा नआउँदा खेलाडीहरु भने निराश हुन थालेका छन् ।

मंसिर २५ गतेको प्रधानमन्त्रीको घोषणामा स्वर्ण जित्नेलाई ९ लाख, रजतलाई ६ र कास्य जित्नेलाई ३ लाख घोषणा गरिएको थियो । यस्तै, एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रति स्वर्ण ११ लाख दिने भनिएको थियो । टिमतर्फ स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ५ लाखका दरले पुरस्कार दिने जनही पुरस्कारको व्यवस्था गरेको थियो तर सोही टिममा रजत र कास्य जित्नेलाई भने हालसम्म पनि केही व्यवस्था भएको छैन ।

यस विषयलाई लिएर कतिपय खेलाडी तथा प्रशिक्षक घोषणालगत्तै असन्तुष्ट थिए । घोषणा भएको महिना दिन बित्दा पनि घोषित पुरस्कार रकम नपाएपछि खेलाडी झनै रुष्ट देखिएका हुन् ।

करातेमा स्वर्ण पदक जितेकी कुसुम खड्का भन्छिन्, ‘खोई पाउने हो कि होइन ? सरकारले पुरस्कार घोषणा गरेको एक महिना भईसक्दा पनि अझै केही अत्तोपत्तो छैन ।’

त्यस्तै कातामा स्वर्ण जितेको महिला टोलीकी सदस्य संगीता मगर भन्छिन्, ‘सरकारले टिमबाट पनि स्वर्ण जित्नेलाई पनि ५र५ लाख दिने भनेको थियो तर अहिलेसम्म हामीले केही पाएका छैनौं ।’

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल खेलाडीलाई घोषित पुरस्कार दिने प्रक्रिया भइरहेको बताउँछन् । उनले भने, ‘पुरस्कार वितरणको पनि आफ्नै प्रक्रिया छ । हामीले मन्त्रालयमा पठाएका छौं । अर्थ मन्त्रालयले स्वीकृत गरेपछि वितरण हुन्छ ।’ त्यसभन्दा माथि गए नगएको आफूलाई थाहा नभएको उनले बताए ।

युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने खेलाडीलाई रकम दिने प्रक्रियामा रहेको बताउँछन् । ‘मन्त्रिपरिषद्बाट पूरानो कार्यविधि संशोधन भएर आइसकेको छ । पारीत कार्यविधी अब अर्थ मन्त्रालय पठाउने तयारीमा छौं । अर्थ मन्त्रालयबाट पारित हुने बित्तिकै हामी खेलाडीलाई पुरस्कार रकम उपलब्ध गराउँछौ’, उनले यसमा धेरै समय नलाग्ने पनि बताए ।

मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले हालसम्मकै उच्च पदक हात पारेको थियो । नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको कान्तिपुर अनलाइनमा खबर छ ।