यासोक । तेस्रो कुम्मायक गोल्डकपमा आज (बिहीबार) दुई खेल हुने छ । पाँचथरको पृथ्वी माविको खेलमैदान यासोकमा सेमिफाइनल प्रवेशका लागि दुई खेल हुने भएको हो ।

पहिलो खेल फिदिम नगरपालिका र याङवरक गाउँपालिकाबीच तथा दोस्रो खेल फालेलुङ र हिलिहाङ गाउँपालिकाबीच हुने आयोजक क्लबका अध्यक्ष रोहन घिमिरेले जानकारी दिए ।

हिजो भएको उद्घाटन खेलमा तुम्बेवा गाउँपालिकालाई ३–२ गोलअन्तरले पराजित गर्दै कुम्मायकले अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ ।

गोल्डकपको विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित २ किलो चाँदीको ट्रफी पाउनेछ । उपविजेताले भने नगद ५५ हजार ५५५ सहित मेडल पाउनेछ । गोल्डकपको प्रवद्र्धक कुम्मायक गाउँपालिका रहेको छ ।