काठमाडौं । डिफेन्डर रञ्‍जित धिमालले फ्रिकिकमा गरेको गोल निर्णायक सावित हुँदा कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई १(० ले पराजित गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक हासिल गर्यो । यस जितसँगै मछिन्द्रले ८ खेलमा ५ जित,१ हार र २ बराबरीसँगै १६ अंक जोडेको छ । अघिल्लो सिजन अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको कारण मछिन्द्रको १ अंक घटाइएको हो ।

पुलिस भने ८ खेलमा ११ अंक जोड्दै छैटौं स्थानमा यथावत छ । मछिन्द्र र शीर्षस्थानमा रहेको त्रिभुवन आर्मी क्लबको बराबर अंक छ । गोलअन्तरको आधारमा आर्मी अगाडि छ ।

निकै प्रतिस्पर्धात्मक पहिलो हाफको छैटौं मिनेटमा नै मछिन्द्रले गोल गर्ने अवसर गुमाएको थियो । रजिन धिमालको पासमा पेनाल्टी क्षेत्रभित्र रहेका मछिन्द्रका खेलाडीले बललाई पोस्टको दिशा दिन सकेनन् । १३ औं मिनेटमा पुलिसका लागि सौजन राईको फ्रिकिक प्रहार गोलरक्षक विशाल श्रेष्ठले विफल पारे ।

२८ औं मिनेटमा अभिषेक रिजालको हेडरले पोस्टको दिशा लिन सकेन । ४१ औं मिनेटमा पुलिसका सौजन राईको प्रहार फितलो रहँदा पुलिस अग्रता लिनबाट चुक्यो । इन्ज्युरी समयको पहिलो मिनेटमा मछिन्द्रले बललाई पोस्टको दिशा दिए पनि रेफ्रीले अफसाइड देखाए ।

रञ्‍जित धिमालको फ्रिकिकमा पिटर सेगुनले गोल गरेपनि रेफ्रीले उक्त मुभलाई मान्यता दिएनन् । खेलको ५३ औं मिनेटमा रञ्‍जितको फ्रिकिक गोलमा मछिन्द्रले अग्रता लियो । उनले मैदानको दायाँ विङबाट झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षकको टाउको माथिबाट जाँदै पोस्टमा छिरेको थियो ।

पुलिसका खेलाडीले रेफ्रीसमक्ष फलको अपिल गरेपनि गोल मान्य भएको थियो । त्यसको दुई मिनेटपछि नै मछिन्द्रले अग्रता दोब्बर गर्ने अवसर पाएपनि अभिषेक रिजालले मौकाको सदुपयोग गर्न सकेनन् ।

खेलको ८१ औं मिनेटमा विशाल राईले बललाई पोस्टको दिशा दिएपनि असिस्टेन्ट रेफ्रीको झण्डा पुन एकपटक बाधक बन्यो । दीपक राईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक सत्रुघन चौधरीले रोकेपछि आएको रिबाउन्डमा विशाल राईले गोल गरे पनि रेफ्रीले त्यसलाई अफसाइड भन्दै मान्यता दिएनन् ।

लिगअन्तर्गत बिहीबार दशरथ रगशालामा नै दुई खेल हुनेछन् । अघिल्लो चरणमा मछिन्द्रलाई स्तब्ध पारेको हिमालयन शेर्पाले रुस्लान थ्री स्टार क्लबसँग खेल्नेछ । यस्तै जावलाखेलले रेलिगेसन क्षेत्रबाट त्रासमा रहेको नेपाल एपीएफक्लबको सामना गर्नेछ ।