अर्जुनधारा । प्रदेश १ सरकारको सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले विद्यालयको शैक्षिक गुणस्तर र पूर्वाधार निर्माणमा आफू प्रतिवद्ध रहेको बताएकी छन् ।

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर विकास गर्न भौतिक पूर्वाधार निर्माण र प्रविधिमैत्री विद्यालय बनाउने कार्यमा प्रदेश सरकार अगाडि बढेको उनको भनाइ छ ।

झापाको दोस्रो पुरानो विद्यालय शनिश्चरे माध्यमिक विद्यालयको बुधबारदेखि सुरु भएको ७२औं वार्षिकोत्सवको उद्घाटन गर्दै राज्यमन्त्री गजमेरले टाढाबाट आउने विद्यार्थीहरुका लागि आवश्यक रहेको स्कुल बसको व्यवस्थापन गर्नेतर्फ उनले प्रतिवद्धता दोहो¥याइन् ।

सोही कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा कर्मचारीलाई नगदसहित पुरस्कृत गरिएको थियो । शिक्षक–कर्मचारीतर्फ वर्ष उत्कृष्ट हुने विद्यालय सहयोगी ज्ञानबहादुर खड्कालाई नगद सात हजार पाँच सयबाट सम्मानित गरियो

कार्यक्रममा विभिन्न दाताहरुले स्थापना गरेको अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो । वितरण गरिएको छात्रवृतिहरुतर्फ गतवर्षको एसईई परीक्षामा उत्तीर्ण भइ सोही विद्यालयको कक्षा ११ मा अध्धयनरत् छात्रा सविता थापा (जीपीए ३.०)लाई १० हजार ६ सय राशिको खगेन्द्र+विभा वृत्ति पुरस्कार र छात्र चन्द्रप्रकाश अधिकारी (जीपीए २.९)लाई सात हजार २ सय राशिको लोकनाथ–हेमकला वृत्ति विकास पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

त्यस्तै छत्र थापा स्मृति पुरस्कारबाट गत वर्षको एसईई परीक्षामा उत्कृष्ट हुने छात्र सुसन दाहाल(३.०५) र छात्रा समिता साउदेन(३.००)लाई जनही नगद १७ सयबाट पुरस्कृत गरिएको थियो ।

त्यस्तै रुद्र तोरण स्मृति पुरस्कारबाट गत वर्षको फाइनल परीक्षामा विद्यालय प्रथम हुने विद्यार्थी अंकित पौड्याल र आदिवासीतर्फ प्रथम हुने विद्यार्थी शान्ता तामाङलाई जनही तीन हजार प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज नेपालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका राज्यमन्त्री गजमेरले विद्यालयले प्रकाशित गरेको मुखपत्र ‘उषा’को लोकार्पण गरेकी थिइन् । प्रधानाध्यापक चेतामणी खनालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा शिक्षक पूण्य सुवेदीले स्वागत गरेका थिए ।

तीन दिनसम्म सञ्चालन हुने वार्षिकोत्सव अन्र्तगत बिहीबार सरस्वती पुजा तथा अक्षरारम्भ अभियानसँगै मैत्रीपूर्ण भलिबल र शुक्रबार सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ । उद्घाटन अवसरमा विद्यार्थीहरुले पिटीसहित मार्च पास गरेका थिए ।