शनिश्चरे । झापाको दोस्रो पुरानो विद्यालय शनिश्चरे माविको ७२औं वार्षिकोत्सवको अवसरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगर प्याब्सनले जितेको छ ।
बिहीबार आयाेजित प्रतियोगिताको फाइनलमा नगर शिक्षक महासंघलाई २५-१६ र २५-१५ को सोझो सेटमा पराजित गर्दै नगर प्याब्सनले उपाधि जितेको हो । पहिलो चरणमा नगरपालिकाको कर्मचारी टिमलाई पराजित गर्दै प्याव्सनले फाइनल यात्रा तय गरेको थियो ।
उपविजेता बनेको नगर शिक्षक महासंघले नगरपालिकाको जनप्रतिनिधिलाई पराजित गरेको थियो । प्रतियोगिताको विजेता टिमले नगद ४ हजारसहित मायाको चिनो पायो भने उपविजेता टिमले नगद २ हजारसहित मायाको चिनोमा चित्त बुझायो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित नगर प्याब्सनका सदस्य सुजन मगरलाई नगर प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौलाले ढाकाको टोपी लगाइदिएर सम्मान व्यक्त गरे ।