सालबारी । झापाको अर्जुनधारा–११ सालबारीस्थित महारानीगञ्ज माविमा रहेको बाल क्लबको आयोजनामा बिहीबारदेखि दोस्रो वडाध्यक्ष नगर विद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
उद्घाटन खेलमा आयोजक महारानीगञ्ज माविलाई १–० गोल अन्तरले पराजित गर्दै भानु माध्यमिक विद्यालय सेमिफाइनलमा पुगेको छ । भानु माविका लागि खेलको तीन मिनेटमा रोहन दनुवारले गरेको गोल निर्णायक भएको थियो ।
उनी खेलको म्यान अफ दी म्याच घोषित हुँदै वडा खेलकुद विकास समितिका संयोजक मोसेस खड्काको तर्फबाट एक हजार प्राप्त गर्न सफल भए । शुक्रबारको खेल कालिस्थान माध्यमिक विद्यालय र सिंहदेवी माध्यमिक विद्यालयबिच हुने आयोजक क्लबले जनाएको छ ।

प्रधानाध्यापक मनबहादुर लिम्बूका अनुसार सामुदायिक र संस्थागत गरी आठ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेता र उपविजेताले नगद १५ हजार र १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहितमान ढकालको अध्यक्षतामा आयोजित प्रतियोगिताको प्रमुख अतिथि प्रदेश नं. १ का सांसद् वृख प्रधानले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बिर्तामोड भेट्रान क्लबका अध्यक्ष किरण थापाले क्लबको तर्फबाट चार थान फुटबल आयोजक बाल क्लबकी अध्यक्ष सलमा भारतीलाई हस्तान्तरण गरेका थिए ।