सालबारी । झापाको अर्जुनधारा-११ सालबारीस्थित महारानीगञ्ज माविमा कक्षा कोठा भवनको बिहीबार शिलान्यास गरिएको छ ।

विद्यालय परिसरमा निर्माण हुने दुई कोठे भवनको प्रदेश १ का सांसद तथा प्रमुख अतिथि बृख प्रधानले शिलान्यास गरे । मावि तहको कक्षा सञ्चालन हुने उक्त भवनको लागि चालु आर्थिक वर्षमा प्रदेश क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १० लाख विनियोजन भएको हो ।

प्रदेश सांसद प्रधानले आफूले कखरा सिकेको स्कुलमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । सरकारको दीर्घकालिन योजनाअनुसार आफूले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

अर्जुनधारा-११ का वडा अध्यक्ष भैरवबहादुर खड्काले भवन पूर्णरुपमा निर्माण गर्नका लागि प्रदेश सांसद प्रधानलाई बजेट विनियोजनमा निरन्तरता दिन आग्रह गरे । उनले शिक्षा, स्वास्थ्य क्षेत्रमा गरिएको लगानी खेर नजाने भन्दै स्थानीयबासीले कालान्तरसम्म सम्झिने पनि सुनाए ।

कार्यक्रममा वडा खेलकुद विकास समितिका संयोजक मोसेस खड्का, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लवकुश गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूले प्रदेशको बजेटबाट यसवर्ष भवनको जग बसाल्ने र छत हाल्ने लक्ष्य लिइएको जानकारी दिए । प्रदेश सांसद प्रधानबाटै भवनको सम्पूर्ण निर्माण कार्य सम्पन्न हुनेमा विद्यालय परिवार विश्वस्त रहेको पनि उनले आशा व्यक्त गरे ।