काठमाडौं । एउटा खेलबाट जीत निकाल्दै महत्वपूर्ण ३ अंकले न्यूरोड टिम (एनआरटी)ले सम्भावित विजेता थ्री स्टार क्लबलाई उछिनेको छ ।

वैकल्पिक फरवार्ड राजेश परियारको दुई गोलमा एनआरटीले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई २-० ले पराजित गरेको थियो । यो जीतले एनआरटी थ्री स्टारभन्दा अंकका आधारमा अघि बढेको हो ।

जीतसँगै एनआरटीले अंक तालिकामा थ्री स्टारलाई उछिन्दै चौथो स्थानमा १ अंकको अग्रता लिएको छ । सातौं मिनेटमा बिबिसीका लागि डेब्यु गरिरहेका सुलभ मास्केको फ्रिकिक प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । १२ औं मिनेटमा रणदीप पौडेलको क्रसमा कप्तान अनिल गुरुङको हेडरलाई एनआरटीका गोलरक्षक अजित प्रजापतिले बचाए ।

एनआरटीले ३२औं मिनेटमा राजेशको गोलमा अग्रता लियो । दर्शन गुरुङको क्रसमा वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका राजेशको प्रहार डिफेन्डर पदम भट्टराईलाई लाग्दै गोलमा परिणत भएको थियो । पहिलो हाफको अन्त्यतिर श्याम बाबुको दोहोरो प्रहारलाई गोलरक्षक विशालले विफल पारे ।

दोस्रो हाफको सुरुवातमै एनआरटीले अग्रता दोब्बर पार्यो । ५२ औं मिनेटमा श्याम बाबुको पासमा राजेशले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारलाई गोलरक्षक विशालले रोक्ने कुनै अवसर पाएनन् ।

एनआरटीका डिफेन्डरले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि बिबिसीले खेलमा फर्कने सुवर्ण अवसर पायो ‌। तर, कप्तान अनिलको प्रहारलाई गोलरक्षक अजितले उत्कृष्ट डाइभ दिँदै बचाए ।

७५औं मिनेटमा जोर्डन ओवानाको हेडरलाई गोलरक्षक विशालले विफल पारे । ७९ औं मिनेटमा सुुलभको प्रहारलाई अजितले बचाएपछि बिबिसीको खेलमा फर्कने सम्भावना पातलिएको थियो ।

यस जीतसँगै एनआरटी ९ खेलमा १५ अंकसहित चौथो स्थानमा उक्लिएको छ । लिगमा ५ जित, २ बराबरी र २ हारको नतिजा ल्याएको एनआरटी गत सिजन पुछारमा रहेको कारण २ अंक घटाइएको छ । बिबिसी भने ८ अंक जोड्दै ११ औं स्थानमा कायम छ ।