दूधे । झापाको दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले स्वर्ण महोत्सव बृहत कार्यक्रमको आयोजना गर्दै उद्घाटन गरेको छ । शुक्रबार संघीय सांसद लालप्रसाद साँवा र प्रदेश सांसद झलकसिं दर्लामी मगरले स्वर्ण महोत्सवको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा गरीब तथा जेहेन्दार छात्रवृत्तिका लागि गोकुल खनाल, लोकनाथ खनाल र चम्पा खनालले १ लाख १ हजार १११ नगद राशिको जयनारायण अयोध्या स्मृति अक्षयकोष घोषणा गरेका छन् । त्यस्तै समाजसेवी सिंहवीर थाम्सुहाङ्गले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि १ लाख ५० हजार दिने घोषणा गरेको शिक्षक यादवप्रसाद घिमिरेले बताए । विद्यार्थीहरुलाई शुद्ध खानेपानीका लागि फिल्टर टयांकीसहितको व्यवस्था स्थानीय अग्निप्रसाद दुलालले निर्माणको घोषणा गरेका छन् । स्वर्ण महोत्सवको स्तम्भ निर्माण भूतपूर्व विद्यार्थी मञ्चले गर्ने मञ्चका अध्यक्ष अशोक बस्नेतले जानकारी दिए ।

कार्यक्रमा जग्गा दिएर विद्यालय स्थापना गर्न सहयोग गर्ने जग्गा दाता स्व. तीलबहादुर कडरिया र स्व. रुकमाया कडरियाका छोरा लगनबहादुर कडरियालाई परिवार प्रतिनिधिका रुपमा सम्मान गरिएको थियो । त्यस्तै उमा–उर्मिला छात्रवृत्ति अक्षयकोषबाट विद्यालयबाट २०७६ सालको एसईई परीक्षामा उत्कृष्ट जिपिए ल्याएर उत्तीर्ण हुने रविन पौडल र अस्मिता राईलाई नगदसहित प्रशंसा पत्र प्रदान गरिएको थियो । पुरस्कारका दाता उमानाथ र उर्मिला दाहालले विद्यार्थीद्वयलाई पुरस्कार प्रदान गरेका हुन् ।

विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि सहयोग गर्ने दाताहरु होमप्रसाद दुलाल, कमला गौतम, दिपक तामाङ्ग, लोकेश खनाल, शिव भट्टराई, टेकबहादुर राई, ख्याम भण्डारी, सूर्यमान बानिया, खगेन्द्र उप्रेती, प्रितम अधिकारी, मेदनी केदेम, दुर्गाप्रसाद भट्टराई र उदयबहादुर खत्रीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

त्यस्तै, शिक्षक श्रीप्रसाद खरेल, मदनकुमार चङ्गवाङ्ग, शिवकुमार आङ्गवो, युवराज आङ्देम्वे, सम्राट सेरेङ्ग र जुना श्रेष्ठलाई विद्यालयले सम्मान गरेको छ । वर्ष उत्कृष्ट विद्यार्थी २०७६ को रुपमा विद्या सिग्देल र सचिन राजवंशीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । विद्यालयमा विभिन्न विधामा अतिरिक्त क्रियाकलापमा सक्रिय ८ जना विद्यार्थीलाई समेत प्रशंसापत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा शिवसताक्षी नगरभित्रका सामुदायिक विद्यालयका प्रअ, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि र अभिावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक श्रीप्रसाद खरेल र गोविन्द काफलेले गरेका थिए ।

यसैबीच पूर्व नेपाल बहुद्देश्यीय सहकारी संस्थाले प्रदान गरेको विद्यालयका ५० जना गरिब तथा जेहेन्दार छात्रछात्रालाई विद्यालयको भूपू विद्यार्थी मञ्चले एक कार्यक्रमका बीच व्याग वितरण गरेको छ । एक साताअघि सो सहकारीले मञ्चका अध्यक्ष अशोक बस्नेतलाई व्याग प्रदान गरेको थियो ।