बिर्तामोड । एमए डब्लु फाउण्डेसन र बिर्तामोडको सयपत्री ट्रेड लिंकले बिर्तामोड नगरपालिका–१० स्थित चमरधाप प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई २ लाखबराबरको न्यानो कपडा, झोला र शैक्षिक सामग्री वितरण गरेको छ ।

विपन्न समुदायका विद्यार्थी अध्ययनरत सो विद्यालयका १०० जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री आइतबार दिइएको यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता सयपत्री ट्रेड लिंक बिर्तामोडका सञ्चालक बिनोद बस्नेतले जानकारी दिए । ‘चिसोका कारण विपन्न समुदायका विद्यार्थी विद्यालय आउनै छोडेपछि उनीहरुका लागि सहायता सामग्री जुटाएका हौँ’, सञ्चालक बस्नेतले भने ।

आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायका विद्यार्थी न्यानो कपडाको अभावमा नियमित विद्यालय आउन छोडेपछि फाउण्डेसन र सयपत्रीले चासो देखाएका थिए । व्यवसायमात्रै होइन सामाजिक उत्तरदायित्वअनुसार विद्यार्थीलाई सहयोग गरिएको सञ्चालक बस्नेत बताउँछन् ।
उनले यो वर्षमात्र नभइ आगामी वर्ष पनि यस विद्यालयलाई सहयोग गर्ने बचन दिएका छन् । मजदुरी गरेर छोराछोरी पठाइरहेका हरेक अभिभावकलाई पनि आर्थिक भार कम होस् भन्ने हेतुले यो कार्यक्रम गरिएको सञ्चालक बस्नेतले बताए ।

जाडो बढेसँगै विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थीको संख्या दिनानुदिन घटिरहेको प्राध्यापक नरेन्द्रप्रसाद गुरुङ बताउँछन् । उनले सबैको साथ सहयोग नियमित पाइरहने हो भने यो विद्यालयलाई नमुना विद्यालय बनाउन सकिने बताए ।

कार्यक्रममा विद्यालयका एक सय जना छात्रछात्रालाई जनही स्वीटर, मफलर, टोपी, जुत्ता, मोजा, ब्याग, कापी, पेन्सिल, इलेजरलगायत करिब दुई लाख मूल्य बराबरको सामग्री वितरण गरिएको छ ।

रोट्रयाक्ट क्लब अफ बिर्तामोडको सहयोगमा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका–१० का वडाध्यक्ष दूर्योधन गुरुङ, विद्यालय व्यवस्थापन समितिका सदस्य रिमानध्वज मुखिया, रोट्रयाक्ट क्लब अफ बिर्तामोडका अध्यक्ष राज मुखिया, सयपत्री ट्रेड लिंक बिर्तामोडका सञ्चालक बस्नेतलगायतले आफ्ना भनाइ राखेका थिए ।