रमेश समदर्शी,
खुदुनाबारी । झापा अर्जुनधारा २ की क्रिष्टिना न्यौपाने अब स्वास्थ्य कार्यकर्ता बन्ने भएकी छन् । शहरबाट मात्र नभइ चोकबजारबाट पनि टाढा बसोबास गर्ने क्रिष्टिनाले स्वास्थ्य कार्यकर्ता बनेर गाउँमै स्वास्थ्य सेवा गर्ने लक्ष्य लिएकी छन् ।

क्रिष्टिनालाई स्वास्थ्य कार्यकर्ता बन्ने अवसर स्थानीय शान्ति सामुदायिक वन उपभोक्ता समूहले जुराइदिएको हो । स्वास्थ्य कार्यकर्ता बन्नका लागि उनले आज (सोमबार)देखि सुरु तीन महिने सामुदायिक स्वास्थ्य कार्यकर्ता तालिममा सहभागिता जनाएकी छन् ।

‘बाफ दिइरहनुपर्ने, अक्सिजन लगाएर राख्नुपर्ने अवस्थामा बुवा हुनुहुन्थ्यो’, क्रिष्टिनाले भावुक हुँदै भनिन्, ‘उहाँ भर्खरै बित्नुभयो, गाउँघरमा स्वास्थ्यकर्मी नहुँदाको पीडा मैले भोगेकी छु ।’ १० रुपैयाँको औषधि किन्न १ सय रुपैयाँको गाडी भाडा खर्च गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

क्रिष्टिनाकै शब्दमा ‘सुगम जिल्लाको दुर्गम गाउँ’मा उनको बसोबास छ । गाँजाबारीबाट सामान्य ज्वरोको औषधि किन्न करिब ३ किलोमिटरको दूरीमा रहेको खुदुनाबारी बजार जानुपर्ने बाध्यता छ । सामान्य चेकजाँच गराउन शनिश्चरे कि बिर्तामोड धाउनुपर्ने अवस्थाकी क्रिष्टिनाले भनिन्, ‘गाउँमा एउटा क्लिनिक पनि छैन, तालिमबाट सिकेर गाउँघरमा सेवा दिन्छु ।’

शान्ति सामुदायिक वनको आयोजनामा सुरु भएको तालिममा स्वास्थ्य कार्यकर्ता बन्न इच्छुक क्रिष्टिनाजस्तै १५ महिला सहभागी छन् । समूहको लक्ष्य ४० जनालाई स्थानीयस्तरमै दक्ष स्वास्थ्य कार्यकर्ता बनाउने रहेको अध्यक्ष तुलसीप्रसाद खतिवडाले बताए ।

उनका अनुसार सहभागी अधिकांश ‘बुहारी’ छन् । उनीहरुको एउटै लक्ष्य गाउँघरमै रहेर स्वास्थ्य सेवा दिनु रहेको छ । अहिले बिरामी नभएको घर भेटिन गाह्रो भएकाले पनि स्वास्थ्य कार्यकर्ता बनाउनु आवश्यक रहेको अध्यक्ष खतिवडाले बताए ।

‘समूहमा लामो अन्तरक्रियापछि तालिम गराउने निर्णयमा पुगेका हौँ’, अध्यक्ष खतिवडाले भने । सबल र सक्षम स्वास्थ्य कार्यकर्ता उत्पादन गर्ने समूहको लक्ष्य रहेको सुनाउँदै उनले समृद्ध नगर बनाउन विकास निर्माणमात्र होइन भन्ने निश्कर्ष निकालेर तालिमको आयोजना गरिएको बताए । उनले थपे, ‘हामी टोल टोलमा स्वास्थ्य कार्यकर्ता उत्पादन गर्ने ध्येयमा छौँ ।’

तीन महिने तालिममा प्राविधिक तथा सैद्धान्तिक पक्षबारे भद्रपुरको मोडर्न पब्लिक हस्पिटलले सहकार्य गर्नेछ । झापाहित, इलाम, मोरङ, सुनसरी र उदयपुरमा यस्ता समुदायमा आधारित स्वास्थ्य कार्यक्रम गरिरहेको हस्पिटलका अध्यक्ष दयालाल राजवंशीले बताए ।

यहाँजस्तै छिमेकी सामुदायिक वनहरु हलुवागढ, जुकेखाडी, सुखानी, माइ नगरपालिकालगायत आधा दर्जन क्षेत्रमा यस्तै तालिम सञ्चालन भइरहेको छ । हस्पिटलले २०६८ सालदेखि यस्ता समुदायमा आधारित कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।

हेल्थ असिस्टेन्टदेखि स्टाफ नर्सजस्ता दक्ष प्राविधिकबाट ज्ञान दिइने तालिममा मानव संरचना विज्ञान, मातृशिशु स्वास्थ्य स्यहार, प्रशव अवस्था, सुत्केरी पूर्वको तयारी, स्यहार, पोषण तत्व, कुपोषण, भिटामिन, परिवार नियोजन र गर्भपतनजस्ता विषयमा जानकारी दिइने अध्यक्ष राजवंशीको भनाइ छ ।

त्यस्तै, सबै प्रकारका प्राथमिक उपचार, सर्पले टोकेको, हाँत भाँच्चिएको, खुस्किएको पत्ता लगाउने विधि, डुबेको मान्छे, आगोले जलेको, करेन्ट लागेको मान्छेलाई गरिने प्राथमिक उपचार र धड्कन नाप्ने विधि तालिममा व्यावहारिक ज्ञान दिइने उनले बताए ।

तालिममा सहभागीलाई ब्लड प्रेसर नाप्ने मेसिन, औषधिसहित ड्रेसिङ सेट र थर्मामिटर हस्पिटलले निःशूल्क उपलब्ध गराउने भएको छ । अध्यक्ष राजवंशीले एक साताभित्र सहभागीलाई ब्लड प्रेसर नाप्न सक्ने बनाउने दाबी गरेका छन् ।

‘सहभागी एक जनालाई दक्ष स्वास्थ्य कार्यकर्ता बनाउन कम्तिमा १७ हजार ५ सय रुपैयाँ खर्च हुने गर्छ’, उनले सुनाए । तर, समुदायमा आधारित काम गर्ने हस्पिटल भएकाले सामुदायिक वनको विशेष अनुरोधमा ८ हजार १ सयमै तालिम प्रदान गरिने भएको छ ।

कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले सहभागीलाई ब्लड प्रेसर, सुगर जाँच्न सक्ने बनाइँदा पनि ठूलै उपलब्धी मान्नुपर्ने बताए । तीन महिने तालिमको उपलब्धीले पछि अनमी, सिएमए पढ्नसक्ने वातावरण सिर्जना हुनसक्ने पनि उनको भनाइ छ ।