काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मछिन्द्र फुटबल क्लब सरस्वती युथ क्लबलाई पराजित गर्दै लिगको दोस्रो स्थानमा रहेको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा बिहीबार सम्पन्न पहिलो खेलमा मच्छिन्द्रले सरस्वतीलाई ६–१ गोलअन्तरले पराजित गर्दै केही समयका लागि लिगको शीर्ष स्थानमा उक्लेको थियो । तर, त्रिभुवन आर्मीले सशस्त्र प्रहरीलाई पराजित गरेपछि शीर्ष स्थान पक्का गर््यो ।

मछिन्द्रले खेलको पहिलो हाफमा एक गोल गर्‍यो भने दोस्रो हाफमा पाँच गोल थप्यो । खेलको ४०औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए । रञ्जित धिमालको क्रसमा उनले हेड गोल गरेका थिए ।

त्यसैगरी खेलको ५४औँ मिनेटमा मछिन्द्रका दीपक राईले एक गोल थप्दै आफ्‍नो टोलीको अग्रता दोब्बर बनाए । उनले गोल गरेको पाँच मिनेट पनि बित्न नपाउँदै मछिन्द्रका अर्का खेलाडी विशाल राई (ए) ले गोल गरे । उनले खेलको ५९औँ मिनेटमा गोल गरेका थिए ।

त्यसपछि खेलको ७७औँ मिनेटमा दीपक राईले व्यक्तिगत दोस्रो गोल गरे । त्यस्तै खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा मछिन्द्रले दुई गोल थप्पो । मछिन्द्रका सोमिद ओलुवावुनमी एडिलाजा र आन्द्रेस नियाले एक एक गोल गरे । त्यस्तै खेलको ८७औँ मिनेटमा सरस्वतीका कजिम बुसारीले पेनाल्टीमार्फत एक सान्त्वना गोल फर्काएका थिए ।

यससँगै ११ खेल खेलेको मछिन्द्र २५ अंकसहित शीर्ष स्थानको दोस्रोमा पुगेको छ भने समान खेल खेलेको सरस्वतीको ४ अंक छ । ११ खेल खेलेको त्रिभुवन आर्मी क्लब २६ अंकसहित शीर्ष स्थानमा रहेको छ ।