शनिश्चरे । झापाको अर्जुनधारा–९ मा मिनी कभर्ड हल निर्माण हुने भएको छ । अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले उपलब्ध गराएको एक कठ्ठा जग्गामा मिनी कभर्ड हल बन्ने भएको हो ।
कभर्ड हल निर्माणका लागि बिहीबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले हलको शिलान्यास गरेका हुन् । कभर्ड हल निर्माणका लागि १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
कार्यक्रममा नगर प्रमुख रानाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । समृद्धिका लागि खेलकुद पनि आवश्यक भएकाले खेल क्षेत्रको विकासमा नगरले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो । नगरको सोच पनि एउटा वडामा एउटा कभर्ड हल निर्माण गर्नु रहेको पनि नगर प्रमुख रानाले जानकारी गराए ।
कार्यक्रममा सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत मेहन्द्रकुमार गिरीले सकारात्मक कार्यका लागि हातेमालो गर्ने आवश्वासन दिए । स्थानीय संघसंस्था एवम् व्यक्तिहरुको आर्थिक एवम् जिन्सी सहयोगबाट कभर्ड हल निर्माण हुन लागेको अर्जुनधारा तेक्वान्दो संघका अध्यक्ष मदन बुढाथोकीले बताए ।
उनले भने, ‘कभर्ड हल अभावमा तेक्वान्दो प्रशिक्षण र प्रतियोगिता गर्न समस्या हुने गरेको छ, अब हल बनेपछि त्यो समस्या समाधान हुने विश्वास लिएका छौँ ।’
क्लबका अध्यक्ष भट्टराई स्वयम् पनि तेक्वान्दाे खेलका प्रशिक्षक हुन् । खेलाडीलाइ तालिम प्रदान गर्न असहज महसुस भएपछि उनले कभर्ड हलका लागि जग्गा प्रदान गरेकाे बताए । कार्यक्रममा तेक्वान्दाे खेल सम्वद्ध प्रशिक्षक, अर्जुनधारा नगर खेलकुद विकास समितिका संयाेजक अर्जुन मेचे, सञ्चारकर्मीलगायतकाे उपस्थिति रहेकाे थियाे ।