बिर्तामोड । विर्तामोडमा जारी प्रथम नगर विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको कराते विधामा संस्थागत विद्यालय हाबी देखिएका छन् ।

करातेको प्राप्त नतिजा अनुसार संस्थागत विद्यालयले बढी पदक हात पारेको देखिएको छ । विर्तामोड नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा नगरभरिका विद्यालयहरुको सहभागितामा प्याब्सन तथा एन प्याब्सन विर्तामोडको संयोजनमा स्थानीय डोमालाल राजवंशी रङ्गशाला, महेन्द्ररत्न मावि र नवोदय शिक्षा सदनको मैदानमा प्रतियोगिता जारी छ ।

भलिबल
भलिबलमा छात्र र छात्रा गरी दुबैतर्फको उपाधि देवी माध्यमिक विद्यालयले हात पारेको छ । बिहीबार महेन्द्ररत्न माविको मैदानमा सम्पन्न छात्रातर्फको खेलमा देवी माविले सेन्ट जेभियर्स बोर्डिङ स्कूललाई २–१ सेटमा पराजित गर्यो । पहिलो सेट २५–१४ अंकका साथ जितेको सेन्ट जेभियर्सले बाँकी सेटमा लय बिगार्दा देवीले दोस्रो सेट २५–१६ र तेस्रो सेट पनि २५–१६ ले आफ्नो पक्षमा पारी उपाधिमा कब्जा जमायो । बुधबार सम्पन्न छात्रतर्फको फाइनल खेल पनि देवी माविले जितेको थियो ।

कराते
कराते खेलको नतिजा अनुसार छात्रातर्फ २५ केजी तौल समूहमा कनकाई आवसीय माविले स्वर्ण पदक प्राप्त गर्यो भने कोहेडले रजत र मोहनमाया र दुर्गा माविले कास्य पदक प्राप्त गरे । छात्रतर्फ बाल्मीकिले स्वर्ण, न्यूटन्सले रजत र कञ्चनजंघा र एभरेष्ट सकूलले कास्य पदक प्राप्त गरे । ३० केजी तौल समूहमा छात्रातर्फ नवोदय शिक्षा सदनले स्वर्ण, कञ्चनले रजत र मोहनमाया र मिडलपोइन्टले कास्य पदक प्राप्त गरे भने छात्रतर्फ अबाकस इङलिश सकूलले स्वर्ण, रुद्र मेमोरियलले रजत र कञ्चनजंघा र मनकामनाले कास्य पदक प्राप्त गरे ।

खेल प्रशिक्षक कुमार उप्रेतीका अनुसार ३५ केजी तौल समूहमा छात्रातर्फ बाल्मीकिले स्वर्ण, एमीटीले रजत र कनकाई र मोहनमायाले कासय पदक प्राप्त गरे भने छात्रतर्फ न्यूटन्सले स्वर्ण, महेन्द्ररत्नले रजत र कञ्चनजंघा र लिटल फ्लावर्सले कास्य पदक प्राप्त गरे । ४० केजी तौल समूहमा छात्रातर्फ देवी माविले स्वर्ण, एमिटीले रजत र महेन्द्ररत्न र सरस्वती माविले कास्य पदक हात पारे भने छात्रतर्फ ४२ केजीमा रुद्र मेमोरियलले स्वर्ण, कञ्चनजंघाले रजत र न्यूटन्स र लालीगुराँसले कास्य पदक जिते ।

४५ केजी तौल समूहमा छात्रातर्फ देवीले स्वर्ण, कनकाईले रजत र एमिटी र दर्गा माविले कास्य पदक प्राप्त गरे भने छात्रतर्फ ४७ केजीमा देवी माविले स्वर्ण, कञ्चनजंघाले रजत र विराटज्योति र न्यूटन्सले कास्य पदक प्राप्त गरे । यसैगरी, ५० केजी तौलमा छात्रातर्फ देवी माविले स्वर्ण, न्यूटन्सले रजत र ब्राइटर इङलिश स्कूल र मोहनमायाले कास्य पदक प्राप्त गरे भने छात्रतर्फ ५२ केजीमा न्यूटन्सले स्वर्ण, महेन्द्ररत्नले रजत र नवोदय र महेन्द्रज्योतिले कास्य पदक प्राप्त गरेको उप्रेतीले जानकारी दिए ।

फुटबल
छात्रतर्फ मात्र सञ्चालन भएको फुटबल खेलअन्तर्गत बिहीबारसम्म क्वाटरफाइनलसम्मका खेल सम्पन्न भएका छन् । पहिलो क्वाटरफाइनलमा महेन्द्रज्योति मावि देवी माविलाई ० का विरुद्ध १ गोलले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ भने दोस्रो क्वाटरफाइनलमा कञ्चनजंगा उच्च माविले पूर्वाञ्चल निदि स्कूललाई ३–० ले पाखा लगाउँदै सेकीफाइनलमा स्थान सुरक्षित गरेको छ ।

यसैगरी, तेस्रो क्वाटरफाइनलमा बाल्मीकि एजुकेशन फाउण्डेशनले मोहनमाया माविलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको छ । निर्धारित समयमा दुबै टिमबाट १–१ गाृल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

अन्तिम क्वाटरफाइनल खेलमा महेन्द्ररत्न मावि दुर्गा माविलाई ३–० ले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको बागध्वज राईले जानकारी दिए । बिहीबार सेमीफाइनल र फाइनलका खेल हुने उनले बताए ।

सोमबार डोमालाल रंगशालामा १ नं प्रदेशसभा सदस्य एकराज कार्कीले उद्घाटन गरेको यो खेलकुद महोत्सव पदक, शील्ड तथा पुरस्कार वितरण गर्दै शुक्रबार समापन हुने आयोजक समितिका अध्यक्ष टिकाप्रसाद संग्रौलाले जानकारी दिएका छन् ।

सामुदायिक तथा संस्थागत गरी ४० वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा ११ विधाका खेल समावेश गरिएको उपाध्यक्ष केशव भण्डारीले बताए ।