मञ्जु टेलर,
काठमाडौँ । महिनावारीको समयमा कम्तीमा पाँच दिनसम्म रगत बग्ने, पेट तथा कम्मर दुख्ने, कमजोरी महसुस हुने, छिनछिनमा मुड परिवर्तन भइरहनेजस्ता समस्या हुन्छन् । यस्ता समस्या हरेक महिनाजसो भोग्नुपरेकाले सामान्यजस्तै लाग्छ । तर, दैनिक क्रियाकलाप भने प्रभावित भइरहेको हुन्छ ।

अझै कामकाजी वा शारीरिक परिश्रम बढी गर्नुपर्ने महिलाका लागि महिनावारीको समय पट्यारलाग्दो हुने गर्छ । शरीरबाट रगत बग्ने हुँदा यो समयमा सामान्यतया आराम र स्वस्थ खानपानको आवश्यकता पर्छ, तर दैनिक काममा जानेहरूका लागि यो सम्भव हुँदैन ।

अझ खेल क्षेत्रमा प्रायः शारीरिक परिश्रम बढी नै हुने गर्छ । खेलको समय वा दैनिकजसो प्रशिक्षणमा रहने महिला खेलाडीले महिनावारीका कारण झनै समस्या खेप्नुपरिरहेको हुन्छ । फुटबल, भलिबल, दौड, साइक्लिङ, तेक्वान्दो, जुडो, पौडी, करातेजस्ता शारीरिक क्रियाकलाप बढी हुने खेलका खेलाडीमा कहिलेकाहीँ महिनावारीकै कारण खेल प्रभावित हुने गरेको बताउँछन् ।

महिला राष्ट्रिय फुटबल टिमकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारीसँग खेलको समयमा महिनावारी हुँदा थुप्रै समस्या भोग्नुपरेको अनुभव छ । ‘खेलका दौरान र अघि–पछि गरिने प्रशिक्षणमा लगभग दिनहुँजसो अभ्यास गरिरहेका हुन्छौँ,’ उनी भन्छिन्, ‘पिरियडको दुई–तीन दिन निकै गाह्रो हुन्छ । टिमका कति जनाले त महिनावारीकै कारणले खेल्न नपाएका थुप्रै उदाहरणसमेत छन् ।’

टिममा महिला प्रशिक्षक हुँदा महिनावारीका वेला खेप्नुपर्ने समस्याबारे कुरा गर्न सहज हुने भए पनि पुरुष प्रशिक्षक हुँदा गाह्रो हुने गरेको अनुभव सावित्रासँग छ । ‘पुरुष प्रशिक्षकसँग कुरा गर्न सुरु(सुरुमा लाज लाग्ने गथ्र्यो’, उनी भन्छिन्, ‘कहिले त प्रशिक्षकले आफैँ बुझेर आराम गर्न लगाउँथे, खेल्न नपाएकोमा भने दुःख लाग्थ्यो ।’

गत सागमा महिनावारी भएकै कारण एक जना खेलाडीले बीचमै खेल छोड्नुपरेको फुटबलर सावित्रा भण्डारीले बताइन् । ‘श्रीलंकाविरुद्धको खेलमा प्लेइङ ११ मै खेलिरहेकी एक जना साथीलाई महिनावारी भएर पेट दुख्यो । उनले सकिनन् र अर्कैलाई खेलाउनुपर्यो’, उनी भन्छिन् ।

खेलको समयमा महिनावारीका कारण झेल्नुपर्ने समस्याबारे अल्ट्राधाविका मीरा राईको अनुभव पनि उस्तै छ । तर, महिला खेलाडीको प्रशिक्षक महिला नै राखिनु, स्वास्थ्यबारे ध्यान दिइनु, खेलको समयमा चिकित्सक सँग सँगै हुनु र टिममा महिनावारीबारे खुलेर छलफल हुनुले समस्या घटिरहेको उनले बताइन् ।

‘सुरुवाती समयमा महिनावारीलाई लिएर निकै पीडा खेप्नुपथ्र्यो । शारीरिक दुःखभन्दा पनि खेलको समयमा पिरियड हुन्छ कि, राम्रो खेल्न सक्दिनँ कि भन्नेजस्ता मानसिक कुराले पिरोल्थ्यो,’ उनले भनिन्, ‘तर, आजभोलि चिकित्सकसँग प्रत्यक्ष सल्लाह लिन सकिन्छ । प्याड वा कपडाको सट्टा मिन्स कपको प्रयोग हुन थालेको छ, जसले केही हदसम्म सजिलो बनाइदिएको छ ।’

भलिबल खेलाडी अरुणा शाहीलाई पनि खेलको समयमा महिनावारी हुनु चिन्ताको विषय बन्ने गरेको छ । खेलको समयमा सकेसम्म पिरियड नभइदिए हुन्थ्यो भन्ने लाग्छ, उनलाई । ‘प्रशिक्षणको समयमा त्यति गाह्रो हुँदैन, आराम गर्ने समय पनि प्रशस्त हुन्छ ।

धेरै बेर खेल्नुनपर्दा शारीरिक पीडा पनि त्यति खेप्नुपर्दैन, तर कहिलेकाहीँ जित्नैैपर्ने दबाब हुन्छ, महिनावारीले गर्दा खेल नै प्रभावित भइदिन्छ ।’ प्याड प्रयोग गर्नुपर्ने भएकाले पनि दौडिन र उफ्रिन गाह्रो हुने अरुणाको अनुभव छ । भन्छिन्, ‘कहिलेकाहीँ लगातार अभ्यास गर्दा धेरै नै रगत गइरहेको हुन्छ । खेलको ऊर्जाले पीडा भुले पनि कतै कपडामा रगत देखिन्छ कि भन्ने पिरलो हुन्छ ।’

जुडो खेलाडी देवकी खड्का पनि महिनावारी भएको रगत बाहिरी कपडामा देखिने हो कि भन्ने डरले खेलमा प्रत्यक्ष असर पर्ने गरेको बताउँछिन् । ‘खेलको समयमा धेरैपटक यस्तो समस्या भोग्नुपपरेको छ,’ उनी भन्छिन्, ‘खेल्दाखेल्दै अचानक रगत जाँदा ध्यान खेलबाट बाहिर जान्छ । मनमा शंका र डरले गर्दा खेलमा राम्रो अवसरसमेत गुमाइरहेका हुन्छौँ ।’ नयाँ पत्रिकाबाट