विराटनगर । शनिबार राति सम्पन्न आठौँ संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल, काठमाडौले जितेको छ । विराटनगरको सहिद मैदानमा भएको फाइनलमा घरेलु टिम सांग्रिला मोरङ एफएलाई २-० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।

 

विराट गोल्डकपको नयाँ च्याम्पियन बनेर मच्छिन्द्रले इतिहास रचेको छ । यो सिजनमा ७ वटा गोल्डकपमा भाग लिएकामध्ये सहिद स्मारक ए डिभिजन लिगको उपविजेता मच्छिन्द्रले तीन वटा जित्न सफल भएको छ । यसअघि केपी ओली कप र वाग्मती गोल्डकपको उपाधि जितिसकेको छ ।

 

मच्छिन्द्रलाई च्याम्पियन बनाउन छिरिङ गुरूङ र हिसुब थपलियाले गोल गरे । उनीहरुले दुबै गोल अतिरिक्त समयमा गरेका हुन् । निर्धारित ९० मिनेटको समयमा गोलरहित खेल बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।

 

अतिरिक्त समयमा सांग्रिलाका गोलकिपर विशाल सुनारको कमजोरीको फाइदा उठाउँदै ११३औं मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए । हिसुब थपलियाले प्रहार गरेको कर्नर सांग्रिलाका गोलकिपर विशाल सुनारले पन्च इन गरेको रिबाउन्ड बललाई छिरिङले हेडमार्फत गोल गरी अग्रता दिलाए । मच्छिन्द्रले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै हिसुब थपलियाले लामो दूरीबाट प्रहार गरेको बलले गोलपोस्टको दिशा लिएको थियो ।

 

उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता बनेको घरेलु टिम सांग्रिलाले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

 

फाइनल खेलको प्लेयर अफ द म्याच मच्छिन्द्रका लाकेन लिम्बू भए । उनले ११ हजार पाए । अन्य विधातर्फ बेस्ट गोलकिपर मच्छिन्द्रका विशाल श्रेष्ठ, बेस्ट कोच मच्छिन्द्रकै सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मच्छिन्द्रका स्टेफन भए । उनीहरुले जनही २१ हजार पुरस्कार पाए ।

 

सर्वोत्कृष्ट खेलाडी सांग्रिलाका महेन्द्र कार्की घोषित भए । उनले मोटरसाइकल पुरस्कार पाए । विजेता हुने खेलाडीहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ्ग, विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीलगायतले पुरस्कार वितरण गरेका थिए ।