0 Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम खेलमा अहिले त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले १-० को अग्रता बनाएको छ । खेलको ३३औं मिनेटमा मछिन्द्रले आत्मघाती गोलबाट अग्रता बनाएको हो ।

रञ्‍जित धिमालको फ्रिकिक क्लियर गर्ने क्रममा आर्मीका विकास तामाङले आफ्नो पोस्टमा गोल गरेका थिए । बल क्लियर गर्ने क्रममा विकासले हेड गरेका थिए तर दुर्भाग्यवश फ्लिक हुँदा आफ्नै पोष्टमा गोल भयो ।

आफ्नै साथीले बल क्लियर गरेको हेरिरहेका आर्मीका गोलरक्षक विकेश कुथूले अन्तिम समयमा बचाउने क्रममा उनी पोलमा ठोक्किन पुगे । करिब ७ मिनेटसम्म गरिएको प्राथमिक उपचारपछि पनि उनी फिट नभएपछि विवश चौधरीलाई आर्मीले मैदान प्रवेश गराएको छ ।

फाइनल सरह रहेको लिगको अन्तिम खेलमा दुवै टिम जित निकाल्दै पहिलो पटक उपाधि उचाल्न चाहन्छ । अन्तिम खेलमा मछिन्द्रलाई जित अत्यावश्क रहेको छ । आर्मीलाई भने बराबरीले उपाधि जित्न प्रयाप्त हुनेछ ।

शीर्ष स्थानको आर्मीको २९ अंक रहदा मछिन्द्रको २८ अंक रहेको छ ।