काठमाडौं । मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलोपल्ट च्याम्पियन बनेको छ । च्याम्पियन बनेसँगै मच्छिन्द्र क्लबले नेपाली फुटबलमा इतिहास रचेको छ ।

अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोलले स्तब्ध पार्दै मच्छिन्द्रले बाजी मारेको हो । खेलको ३३औं मिनेटमा मछिन्द्रले आत्मघाती गोलबाट अग्रता बनाएको थियो । त्यही गोल निर्णायक बन्यो ।

रञ्‍जित धिमालको फ्रिकिक क्लियर गर्ने क्रममा आर्मीका विकास तामाङले आफ्नो पोस्टमा गोल गरेका थिए । बल क्लियर गर्ने क्रममा विकासले हेड गरेका थिए तर दुर्भाग्यवश ब्याक फ्लिक हुँदा आफ्नै पोष्टमा गोल भयो ।

आफ्नै साथीले बल क्लियर गरेको हेरिरहेका आर्मीका गोलरक्षक विकेश कुथूले अन्तिम समयमा बचाउने क्रममा उनी पोलमा ठोक्किन पुगे । करिब ७ मिनेटसम्म गरिएको प्राथमिक उपचारपछि पनि उनी फिट नभएपछि विवश चौधरीलाई आर्मीले मैदान प्रवेश गराएको छ ।

फाइनल सरह रहेको लिगको अन्तिम खेलमा दुवै टिम जित निकाल्दै पहिलो पटक उपाधि उचाल्न चाहन्थ्यो । अन्तिम खेलमा मछिन्द्रलाई जित अत्यावश्क रहेको थियो भने आर्मीलाई भने बराबरीले उपाधि जित्न प्रयाप्त थियो ।

शीर्ष स्थानको आर्मीको २९ अंक रहदा मछिन्द्रको २८ अंकबाट थप ३ अंक बटुल्दै च्याम्पियन बनेको हो ।