0 Shares

झिलझिले । ए डिभिजन क्लब मनाङ मस्र्याङ्दी झापामा आयोजित सताक्षी गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ ।

तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबसँग पाहुना टोली मनाङ १-० गोलअन्तरमा स्तब्ध भएको हो । जीतसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजकका लागि मनिष थापाले गरेको गोल नै निर्णायक बन्यो ।

झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा भएको उद्घाटन खेलमा आयोजकले लिगको तेस्रो स्थानमा रहेको ए डिभिजन क्लब मनाङलाई हराएको हो । खेलको ५०औँ मिनेटमा आयोजक टिमका मनिष थापाले गोल गर्दै अग्रता दिलाएका थिए । आशिष राईको क्रस पासमा थापाले बललाई जाली चुमाएका थिए । यसअघि खेलको १९औँ मिनेटमा मनिषको प्रहार बाहिरिएको थियो ।

२२औँ मिनेटमा आयोजकका गोलकिपर मनोज प्रधानले विपक्षीको हेडर उत्कृष्ट बचाउ गरे । पहिलो हाफको इन्ज्युरी समयमा मनाङको प्रहार आयोजकका गोलकिपर मनोजबाट फुस्किए पनि मनिष थापाले हेडरमार्फत सुन्दर बचाउ गरे ।

खेलको ३८औँ मनाङका सुशील लामाको प्रहार आकाशिएको थियो । उनले २३औँ मिनेटमा निशान लिम्बूलाई विस्थापित गरेर मैदान प्रवेश गरेका थिए । ४०औँ मिनेटमा मनाङका कप्तान कमल श्रेष्ठको फ्रिकिक बाहिएिको थियो । त्यस्तै, मनाङका अञ्जन विष्टको क्रसलाई आयोजकका कप्तान सजित राईले क्लियर गरिदिएका थिए ।

खेलको म्यान अफ दी म्याच गोलकर्ता मनिष थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।

तेस्रो संस्करणको सताक्षी गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र फुटबल क्लब, गोर्खा ब्वाइज फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, आयोजक टिम र भारत दार्जीलिङको एमएफसीले सहभागिता जनाउने आयोजकका उपाध्यक्ष फुर्वा तामाङले जानकारी दिए ।

भोलि सोमबार थ्री स्टार क्लबले बेलबारी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका विजेताले ६ लाख नगद पाउँदा उपविजेताले ३ लाख पाउनेछ ।

आर्थिक संयोजक इजमले प्रतियोगिता सञ्चालन गर्न ७६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । प्रतियोगिताका म्यान अफ दी टुर्नामेन्टको पुरस्कार ५० हजार र हाइ स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिने भएको छ ।

त्यस्तै, उत्कृष्ट मिड फिल्डर, फरवार्ड, डिफेन्स, गोलकिपर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशि जनही २० हजार र म्यान अफ दी म्याचलाई नगद १० हजार रहेको आयोजकले जनाएको छ । सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको थियो ।

गोल्डकपको उद्घाटन शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले एक कार्यक्रमका बीच गरेका थिए ।