झापा । बेलबारी फुटबल क्लब मोरङमाथि सहज जीत दर्ता गर्दै ए डिभिजन क्लब थ्री स्टार क्लब तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बेलबारी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गरेपछि थ्री स्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । फाइनल प्रवेशका लागि उसले आयोजक सतासीधाम स्पोर्टिङ क्लबको सामना गर्नु पर्नेछ ।

१ नम्बर प्रदेश लिगको उपविजेता बेलबारीविरुद्ध थ्री स्टारको जीतमा सञ्जोग राईले दुई गोल गरे भने उनकै पासमा सुशिल राईले एक गोल गर्दा थ्री स्टारको सहज जीत दर्ता भयो ।

खेलको सुरुवाती समयमै थ्री स्टारले बेलबारीलाई दबाबमा राखेको थियो । खेलको नवौँ मिनेटमा थ्री स्टारका सञ्जोग राईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । विपक्षीको हेडर फ्लिक भएको मौकामा उनले गोल गरेका हुन् ।

त्यसको पाँच मिनेटपछि सञ्जोगकै एसिस्टमा सुशील राईले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ५३ औँ मिनेटमा सञ्जोगको प्रहार बेलबारीका गोल किप्पर सनम राईले उत्कृष्ट बचाउ गरे पनि एक मिनेटपछि लालारामको पासमा सञ्जोगले एक गोल थप्दै टिमलाई ३–० मा पुर्याएका थिए ।

त्यस्तै, खेलको २३ औँ मिनेटमा बेलबारीलाई गोल गर्ने अवसर मिले पनि मिस पास हुँदा थ्री स्टारका डिफेन्सले क्लियर गरिदिए । पहिलो हाफको अन्तिम मिनेटमा बेलबारीका वीरेन्द्र लिम्बूलाई डिबक्स नजिकै लडाउँदा पाएको फ्रिकिकमा भूषण सुब्बाको प्रहार ब्लक हुँदा बेलबारीले गोल गर्ने अवसर गुमायो ।

दुई गोल गरेका थ्री स्टारका सञ्जोग राई खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार पुरस्कारस्वरुप पाए । भोलि (मंगलबार)को खेल ए डिभिजन लिगको उपविजेता त्रिभुवन आर्मी क्लबले दार्जीलिङको एमएफसीसँग भिड्नेछ ।

प्रतियोगिताका विजेताले ६ लाख नगद पाउँदा उपविजेता टोलीले ३ लाख पाउनेछ । प्रतियोगिताको म्यान अफ दी टुर्नामेन्टको पुरस्कार ५० हजार र हाइ स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिने भएको छ ।

त्यस्तै, उत्कृष्ट मिड फिल्डर, फरवर्ड, डिफेन्स, गोल किपर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशि जनही २० हजार र म्यान अफ दी म्याचको १० हजार रहेको प्रेस संयोजक योगेन लावतीले जनाए ।

सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो ।