झापा । मेचीनगरस्तरीय १२औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि धुलाबारी माविले हात पारेको छ ।
मेचीनगर २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा सोमबार समापन भएको सो प्रतियोगिताको उपाधि धुलाबारीले उछिनेको हो । तीन दिवशीय उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गरेको धुलाबारीले खेलका विभिन्न विधामा गरी १९ वटा स्वर्ण पदक जित्दै ८० अंक बटुल्यो ।
उपाधि विजेता टिम धुलाबारीका खेलाडीलाई प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिन् । मेचीनगर शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको सो प्रतियोगितामा द्वितीय बनेको हिमालयन एकाडेमीले ५ वटा स्वर्ण पदक प्राप्त गर्दै २४ अंक जोड्यो ।
मेची जनसाधारण माविको संयोजनमा सम्पन्न उक्त प्रतियोगितामा तृतीय भएको इष्ट होराइजन अंग्रेजी आवासीय माविले १५ अंक ल्याएको प्रतियोगिता समितिका सदस्य सचिव एवं मेची जनसाधारण माविका प्रधानाध्यापक चन्द्रशेखर गुरागाईंले बताए ।
सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडी तथा टिमलाई प्रमुख अतिथि उप्रेती, विशिष्ट अतिथि मेचीनगर शिक्षा अधिकारी होमनाथ भण्डारी र मेचीनगर सामाजिक विकास समिति संयोजक एवं मेचीनगर ४ का वडा अध्यक्ष नवीन बरालले बधाई तथा शुभकामना दिँदै पुरस्कृत गरे ।
प्रतियोगिता समापन कार्यक्रममा मेचीनगर १ का वडा अध्यक्ष पासाङ तामाङ, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष गणेशविक्रम नेम्बाङ, करातेका वरिष्ठ प्रशिक्षक कालु मेचे, नेपाल शिक्षक महासंघ मेचीनगर अध्यक्ष केशव पौडेल, महासंघ पूर्व जिल्ला अध्यक्ष तेजप्रसाद चौंलागाईं, महासंघ झापा सचिव तोयानाथ दाहाल, शिक्षक संघ नगर अध्यक्ष होमनाथ ढकाल, शिक्षक संगठन नगर अध्यक्ष लम्बोधर पौडेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमलाल काफ्ले, नेपाल प्याब्सन मेचीनगर अध्यक्ष भगिरथ राईलगायतको आतिथ्यता थियो ।
प्रतियोगिता सञ्चालन समिति संयोजक तथा कन्भेन्ट अंग्रेजी विद्यालयका प्रिन्सिपल विक्रम भेटवाल क्षेत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षक पुष्कर ढकालले गरेका थिए ।