बिर्तामोड । झापा गोल्डकप आयोजक समितिले मच्छिन्द्र फुटबल क्लबबाट लिग खेल्ने झापाली खेलाडी र प्रशिक्षकलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

झापाको झिलझिलेमा जारी सताक्षी गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा शुक्रबार झापा गोल्डकपले उनीहरुलाई नगद पुरस्कार प्रदान गरेको हो ।

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्रका झापाली खेलाडी र प्रशिक्षकलाई झापा गोल्डकप हौशला प्रदान गर्न पुरस्कृत गरिएको अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए ।

मच्छिन्द्रबाट खेल्ने छजना खेलाडी झापाका छन् । उनीहरुमध्ये केही झापा ११ फुटबल क्लबका सदस्य पनि हुन् । यो वर्ष लिगमा मच्छिन्द्रले त्रिभुवन आर्मी क्लबलाई हराउँदै इतिहास रचेको थियो । मच्छिन्द्रले पहिलोपटक लिगको उपाधि उचालेको हो ।

अध्यक्ष गिरीका अनुसार मच्छिन्द्रका प्रशिक्षक झापाका प्रवेश कटवालसहित खेलाडीहरु विशाल राई बी र योगेश गुरुङ मिल्डफिल्ड, देवेन्द्र तामाङ र विमानप्रसाद राई डिफेन्स, रेजिन सुब्बा र विशाल राई ए फरवार्डलाई पुरस्कृत गरिएको हो । प्रशिक्षक कटवाललाई नगद २५ हजार रुपैयाँ र खलाडीलाई नगद १५ हजार रुपैयाँका दर पुरस्कृत गरिएको थियो ।