झापा । सहिद स्मारक ए डिभिजन लिग सकिएको एक सातापछि पहिलो उपाधि रक्षाका लागि थ्री स्टार क्लबले मच्छिन्द्र क्लबसँग सताक्षी गोल्डकपको तेस्रो संस्करणमा भिड्दैछ।
लिगको चौथो स्थानको थ्री स्टारले च्याम्पियन मच्छिन्द्रसँग भोलि झिलझिलेस्थित गणेशमानसिंह प्रतिष्ठान झापामा उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् । आज आयोजित प्रि-म्याच कन्फरेन्समा दुवै टोलीले उपाधिको दाबेदारी प्रस्तुत गरे ।
लिग च्याम्पियन मच्छिन्द्रले त्रिभुवन आर्मी क्लबलाई फेरि पराजित गरेर आफूलाई नेपाली फुटबलमा अब्बल सावित गरी फाइनल यात्रा तय गरेको हो भने थ्री स्टारले आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई पराजित गरेर उपाधि होडमा उक्लिएको थियो ।
आफ्नो टिममा स्टार खेलाडी भएकाले त्यसको फाइदा उठाउने मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालको भनाइ छ । आफ्नो टिममा कुनै कमजोरी नभएको दाबी गरेका उनले यसअघिको खेलमा देवेन्द्र तामाङ घाइते भएकाले भनेजस्तो खेल नभएको बताए । देबेन्द्र कमब्याक भए पनि आर्मीसँगको खेलमा रजिन धिमाल घाइते भएकोले केही समस्या आउँछ कि भन्ने उनले सुनाए ।
शतप्रतिशत जीत निकाल्ने प्रयासमा रहेको थ्री स्टारका प्रशिक्षक मेघरजा केसीको भनाइ छ । ६० प्रतिशतभन्दा बढी सफल भइरहेको भन्दै उनले फाइनल खेलमा बाँकी ४० प्रतिशत पूरा गर्ने दाबी गरे ।
लिग च्याम्पियन मच्छिन्द्रलाई पराजित गर्दै सताक्षी गोल्डकपको तेस्रो संस्करणको उपाधि थ्री स्टारले जितेर लैजाने उनले महत्वांकाक्षी विश्वास लिएका छन् ।
थ्री स्टारका कप्तान विक्रम लामाले जीत ९० मिनेटभित्रै निस्कन्छ भन्ने फुटबलमा नहुने भएकाले जीतका लागि नै खेल्ने बताए । टिममा नयाँ खेलाडी भएकाले उनीहरुका लागि अवसरको रुपमा लिएको उनको भनाइ छ । फुटबलमा गोलअन्तरको अनुमान गर्नु मुर्खता भएको भन्दै कसेले जित्ने भन्ने महत्वपूर्ण हुने उनले आफ्नो विचार राखे ।
मच्छिन्द्रका कप्तान विराज महर्जनले टिमका लागि फाइनल खेल महत्पूर्ण रहेको बताए । फाइनले जित्दै दर्शकको पनि मन जित्ने दाबी गरे । ९० मिनेटभित्रै सफलता मिल्छ भन्ने फुटबलमा नहुने बताउँदै उनले मिहेनतमा ध्यान दिएर पाएको अवसरमा जीत निकाल्ने मच्छिन्द्रको ध्येय रहेको कप्तान विराजले बताए ।
गोल्डकपको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ ।