झापा । लिग विजेता मच्छिन्द्र क्लबले तेस्रो सताक्षी गोल्डकपको उपाधि जितेको छ । उसले उपाधिसँगै नगद ६ लाख रुपैयाँ प्राप्त गरेको छ ।
आइतबार झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा भएको फाइनल खेलमा थ्रि स्टार फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै मच्छिन्द्र क्लब च्याम्पियन भएको हो । उपविजेता थ्रि स्टारले ३ लाखमा चित्त बुझायो ।

खेलको तेस्रो मिनेटमा पाएको पेनाल्टी गोल नै मच्छिन्द्रलाई जितका लागि निर्णायक बन्यो । खेलको दोस्रो मिनटमा मच्छिन्द्रका अडेलाजा सोमिडेलाई पेनाल्टी एरियाभित्र थ्रि स्टारका अशोक खवासले लडाएपछि मच्छिन्द्रले पेनाल्टी पाएको थियो । त्यस्तै, नवौँ मिनेटमा विशाल राई ‘बि’ को प्रहार थ्रि स्टारका गोल किप्पर पूर्ण चेम्जोङले बचाए ।

२३ औँ मिनेटमा पेनाल्टी एरिया नजिकबाट थ्रि स्टारका लालरामको पहार बार छेवैबाट बाहिरियो । ३९ औँ मिनेटमा अशोक खवासको पासमा लालरामको हेडर बाहियिो । ४३ औँ मिनेटमा मच्छिन्द्रका गाल किप्पर विशाल श्रेष्ठ बिट भएको मौका लालरामले गरेको प्रहार रक्षक देवेन्द्र तामाङले गोल लाइन नजिकबाट उत्कृष्ट क्लियर गर्दै बराबरी हुनबाट जोगाए ।

खेलको ४६ औँ मिनेटमा रेजिन सुब्बाको पासमा विमल घर्ती मगरको प्रहार आकाशियो । ६१ औँ मिनेटमा दिपेश घलेको प्रहार आकाशियो । ६६ औँ मिनेटमा आन्द्रेसको हेडर गोल किप्परबाट रिबाउन्ड हुँदा विशाल राई ‘बि’ को प्रहार गोल किप्पर चम्जोङले पञ्च गरेर बचाए । ७४ औँ मिनेटमा मिक्चेनको फ्रिकिक प्रहार मच्छिन्द्रका खेलाडीको बारमा लागर फर्कियो ।