शनिश्चरे । झापाको अर्जुनधारा–८ मा रहेको एम्स एकाडेमीको २२औँ वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसर पारेर एकाडेमीले शैक्षिक बुलेटिनको रुपमा ‘एम्स दर्पण’ प्रकाशन गरेको छ ।

विद्यालयको गतिविधिसँगै सिर्जनात्मक विविध क्षेत्रमा रुची राख्ने विद्यार्थीहरुलाई लक्षित गरी यसै महिनादेखि प्रकाशनमा ल्याइएको एकाडेमीका प्रिन्सिपल टीआर गौतमले बताए । उनका अनुसार एकाडेमीमा अध्ययनरत विद्यार्थीको अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले बुलेटिन प्रकाशनमा ल्याइएको हो । २२औं वार्षिकोत्सवको सन्दर्भमा लोकार्पण गरिएको उक्त बुलेटिन मासिकरुपमा नियमित प्रकाशन गर्ने प्रिन्सिपल गौतमले जानकारी दिए ।

उक्त बुलेटिनमा विद्यालयमा हुने गतिविधिसँगै चुट्किला, चित्रकला प्रदर्शनी, साहित्य सामग्री, फोटो फिचरलगायत समावेश हुनेछ । बुलेटिनको पृष्ठ संख्या चार रहेको छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष रमेश नेपालको अध्यक्षता र प्याब्सन प्रदेश नं. १ का उपाध्यक्ष नारायण घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रिन्सिपल गौतमले विद्यालयको वर्तमान गतिविधि र भावी रणनीतिबारे जानकारी गराएका थिए ।

कक्षा–१० का पूर्व विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, रायम्स, फेसन सो, नाटक मञ्चन, सांस्कृतिक भेषभूषा प्रदर्शनीलगायत प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा सहायक प्रधानाध्यापक यमनकुमार दनुवारले स्वागत र संयोजक धनन्जय रिमालले कार्यक्रमको सञ्चालन गरेका थिए ।