अर्जुनधारा । झापाको अर्जुनधारा–६ स्थित देवी पाथीभरा अङग्रेजी विद्यालयले १०६ वर्षीया बृद्धालाई सम्मान गर्दै विद्यालयको ११औं वार्षिकोत्सव आइतबार सम्पन्न गरेको छ ।
कार्यक्रममा १०६ वर्षीया ज्येष्ठ नागरिक नारायणी सेढाईंलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो । उनलाई अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले दोसल्ला ओढाएर सम्मान व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारदमुनी आचार्यको अध्यक्षता र अर्जुनधारा नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत शिक्षक रोशन डाँगीले गरेका थिए ।
विद्यालयको वर्तमान गतिविधि र भावी योजनाबारे संस्थापक प्रधानाध्यापक राजेशकुमार आचार्यले प्रस्तुत गरेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्य, रायम्स, उसु प्रदर्शनीलगायत प्रस्तुत गरेका थिए । प्याब्सन अर्जुनधारा नगरमा उत्कृष्ट तेस्रोमा पर्न सफल विद्यार्थीहरुको फिल डान्सले सम्पूर्ण अभिभावकको मन जितेको थियो ।
कार्यक्रममा प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष गौरीमान फागो, नगर प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौला, उपाध्यक्ष बालगोपाल गौतम, सहजकर्ता केशव मैनाली, शिक्षक–अभिभावक संघका अध्यक्ष गंगा भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक मुना पोखरेलले गरेकी थिइन् ।