झापा । सुखानी सहिद स्मृति गोल्डकपमा कनकाई नगर खेलकुद विकास समिति झापाले विजयी सुरुवात गरेको छ ।
झापा अर्जुनधारा ९ स्थित नमूना खेलमैदानमा आज (बुधबार)देखि सुरु चौथो संस्करणको उद्घाटन खेलमा इलाम जिल्ला फुटबल संघलाई २–० गोलले पराजित गर्दै कनकाई क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेलको १३औँ मिनेटमा कुसुम खतिवडाले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफ एक गोलले अग्रता लिएको कनकाईले दोस्रो हाफमा थप गोल गर्दै जीत पक्का गरेको हो ।
दोस्रो हाफको २७ मिनेटमा कनकाईकी ममता राउतले गोल गरेकी थिइन् । खेलको वुमन अफ दी म्याच कुसुम खतिवडा घोषित भइन् । उनलाई आयोजक सुखानी सहिद स्मृति प्रतिष्ठानका उपाध्यक्षद्वय अर्जुन राई र टंक भट्टराईले नगद ३ हजार पुरस्कार प्रदान गरे । बिहीबारको खेल पाँचथर जिल्ला फुटबल संघ र पारिजात महिला फुटबल क्लब झापाबीच हुनेछ ।
महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुखानी सहिद स्मृति प्रतिष्ठान अर्जुनधारा–९ झापाको आयोजनामा १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको हो । पराजित टिमलाई प्रतिष्रठानका महासचिव हर्कराज राईले मायाकाे चिनाे प्रदान गरेका थिए ।
गोल्डकपमा ९ जिल्लाका १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद १ लाख २५ हजार पाउँदा उपविजेताले नगद ७५ हजार पाउनेछ । अन्य विधागत पुरस्कारतर्फ बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्डले जनही ७ हजार पाउँदा फाइनल खेलको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिनेछ ।
त्यस्तै, फेयर प्ले टिमलाई आयोजकले नगद १० हजार प्रदान गर्नेछ भने वुमन अफ दी टुर्नामेन्ट बन्ने खेलाडीलाई नगद १२ हजार पुरस्कार प्रदान गरिनेछ ।
यसअघि भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि नेकपाका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले गोल्डकपको उद्घाटन गरेका थिए । गोल्डकप आयोजक मुल समितिका संयोजक बृख प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा सुखानी सहिद स्मृति उद्यानका अध्यक्ष टंक बरालले स्वागत गरेका थिए भने व्यवस्थापक पुष्प तिवारीले कार्यक्रम सञ्चालन गरेका थिए ।