दिपक बोहोरा,
इलाम । यहाँ जारी छैटौँ संस्करणको माइभ्याली गोल्डकपको दोश्रो सेमिफाइनलमा आज (बिहीबार) आयोजक माइभ्याली फुटबल क्लब र त्रिभुवन आर्मी क्लब फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन् । इलाममा लिगको उपविजेतासमेत रहेको आर्मी यसअघि अर्को ए डिभिजन क्लब संकटा क्लबलाई २–१ ले हराउँँदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

यता आजोजक माइभ्याली फुटबल क्लबले भारतको मोहम्मडम स्पोर्टिङ क्लबलाई २–१ ले हराउँँदै फाइनल यात्रा तय गरेको थियो । आयोजकले पहिलोपल्ट सेमिफाइनल खेल खेलेको हो ।

आफ्ना ७ जना नियमित खेलाडीहरु राष्ट्रिय टिमको प्रशिक्षणमा रहेकाले दोश्रो रोजाइको टिम लिएर इलाम आएको आर्मीलाई आयोजश टिमसंग अप्रत्यासित नतिजाको चिन्ता रहेको आर्मीका प्रशिक्षक नबिन न्यौपानेले बताउँछन् ।

यता आयोजकले बिभिन्न क्लबका खेलाडीहरु मिश्रणमा टिम निर्माण गरेको छ । जावलाखेलका बिशाल तामाङ, फ्रेन्डस क्लबका देब लिम्बु र ब्रिगेट ब्वाइजको शिशिर लेखी लगायतको खेलाडीहरु समेटेर टिम निर्माण गरेको आयोजक आर्मीलाई हराउँदै फाइनल प्रवेश गर्ने दाउमा रहेको छ ।

लिग च्याम्पियन मछिन्द्र हिजो मानेभन्ज्याङ एफसीलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ । फागुन २४ गते सम्म चल्ने गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।